संखुवासभाको चिचिलामा पहिरो, अवरुद्ध सडक खुलाउन सुरु



खाँदबारी । लगातारको वर्षापछि आएको पहिरोका कारण संखुवासभाको चिचिला गाउँपालिका–२ इम्चोङस्थित वडा कार्यालय नजिकै भ्याङखोला–याफुडाँडा–लप्से सडक अवरुद्ध भएको छ। सोमबार राति गएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको हो।

घटनापछि गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिले स्थलगत अनुगमन गरेको छ। विपद् व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर राईको संयोजकत्वमा गएको टोलीले पहिरोबाट भएको क्षतिको विवरण संकलन गरेको छ। संकलित विवरणका आधारमा मुचुल्का तयार गरी माथिल्लो निकायमा पठाउने तयारी भइरहेको विपद् संयोजक राईले जानकारी दिनुभयो। साथै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम पनि सुरु गरिएको उहाँले बताउनुभयो।

पहिरोका कारण स्थानीयले लगाएको अलैँची खेतीमा ठूलो क्षति पुगेको छ। साथै विद्युतका पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ भने खानेपानीको ट्यांकीमा समेत क्षति पुगेको वडा अध्यक्ष दिनेश कुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार पहिरोबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

यसैबीच, चिचिला गाउँपालिकाको दिदिङ क्षेत्र प्रवेश गर्ने दुवै मुख्य सडक बाढी–पहिरोका कारण अवरुद्ध रहेका छन्। छ्याङ्कुटी–आहाले हुँदै जाने अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गसमेत अझै सञ्चालनमा आउन सकेको छैन। यता भ्याङखोला–इम्चोङ–लप्से सडकमा भने पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको छ। गाउँपालिकाका इन्जिनियर उमेश कार्कीका अनुसार उक्त सडक दुई दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

 

सम्बन्धित समाचार