महाकुलुङ गाउँपालिकाको वित्तीय प्रगति ८३.४१ प्रतिशत



खाँदबारी । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ८३.४१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाले चालु र पूँजीगत गरी समग्रमा उक्त प्रगति हासिल गरेको हो ।

कुल विनियोजित बजेट ४४ करोड १७ लाख ५५ हजार १५० रुपैयाँमध्ये ३६ करोड ८४ लाख ७२ हजार ८०६ रुपैयाँ खर्च भएको गाउँपालिकाका लेखा प्रमुख ध्रुव कुलुङले जानकारी दिनुभयो ।

कुलुङका अनुसार चालू तर्फ २६ करोड ८४ लाख ६९ हजार ५० रुपैयाँ विनियोजन भएकोमा २३ करोड ८४ लाख १७ हजार ६८५ रुपैयाँ खर्च भएको हो । यो खर्च प्रतिशत ८८.८० हो । त्यस्तै पूँजीगत तर्फ १७ करोड ३२ लाख ८६ हजार १०० रुपैयाँ विनियोजित भएकोमा १३ करोड ५५ हजार १२१ रुपैयाँ खर्च भएको हो । पूँजीगत तर्फ ७५.०५ प्रतिशत खर्च भएको हो ।

यस वर्ष जेन्जी आन्दोलनको प्रभाव, प्रतिनिधिसभा निर्वाचन, मूल्यवृद्धि लगायतका कारणले योजना तथा कार्यक्रमहरू कार्यान्वयनमा समस्या भए पनि समग्र वित्तीय प्रगति सन्तोषजनक रहेको प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङको भनाइ छ ।

आगामी आर्थिक वर्षमा विनियोजित योजना तथा कार्यक्रमहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने प्रमुख प्रशासकीय अधिकृत कुलुङले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार