भोजपुरमा ८ जनालाई एमालेद्वारा निश्काशित, उपमेयर र वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस



भोजपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले भोजपुरले पार्टीको नीति, सिद्धान्त र अनुशासनविपरीत गतिविधि गरेको भन्दै केही जनप्रतिनिधिसहित केही नेता-कार्यकर्तालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा, ८ नम्बर वडाध्यक्ष नवीन प्रधानसहित छन् ।

उनीहरू केही हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरिसकेका छन् भने केही प्रवेश गर्न ठिक्क परेर बसेका पार्टीको बुझाइ छ ।

गत फागुनको चुनावमा ‘माटो’मा आएको मत जोडघटाउ गरी एमालेका अधिकांश नेता-कार्यकर्ता श्रम संस्कृतिप्रति आकर्षित देखिएका छन् । तर, निरन्तर आफूहरूमाथि उपेक्षा गरेको कारबाहीमा परेकाहरूले प्रतिक्रिया दिएका छन् ।

बुधबार जिल्ला कमिटी अध्यक्ष मक्करबहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा उनीहरूमाथि पार्टीको अनुशासन उल्लंघन गर्दै अन्य दलमा प्रवेश गरेको र पार्टीविरूद्ध गतिविधि सञ्चालन गरेको आरोप छ ।

एमाले कोशी सदस्य समेत रहेकी भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पालाई पार्टीको साधारण सदस्यबाट हटाउनुका साथै उपमेयर पदबाट समेत मुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन प्रदेश कमिटीलाई सिफारिस गरिएको छ । उनीमाथि पार्टीको नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको र पार्टीका कार्यकर्तालाई अन्य दलमा प्रवेश गराउन सक्रिय भूमिका खेलेको आरोप लगाइएको छ ।

त्यसैगरी, एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा वडाध्यक्ष नवीन प्रधानलाई पनि साधारण सदस्य नरहने गरी निष्कासन गरिएको छ। उनलाई वडा अध्यक्षको पदबाट मुक्त गर्न आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष खड्काले आफ्ना जनप्रतिनिधिहरूबाट भएको यस्तो गतिविधिलाई सूर्य चिन्हमा मतदान गर्ने आम मतदाता र शुभेच्छुकहरूमाथिको गम्भीर विश्वासघात र अवसरवादी प्रवृत्ति को संज्ञा दिएका छन् ।

पार्टीले विभिन्न जिम्मेवारीमा रहेका विमल रणपहेँली, सुमन प्रधान, रेनुका भुजेल, कोपिला राई, बाबुराम तामाङ, दिपेन दर्नाललाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ ।

नेपाल प्रेसबाट साभार

सम्बन्धित समाचार