सुनसरीका सीडीओ हटाइए, संखुवासभाका सीडीओ खटाइए



घटनापछि सुनसरी खटाईएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी रहेका ईश्वरीप्रसाद अर्याल ।

काठमाडौं । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा निकायमा व्यापक हेरफेर गरेको छ। मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित प्रमुखहरूलाई फिर्ता बोलाएको हो।

गृह मन्त्रालयले सीडीओ घिमिरेलाई मन्त्रालयमा तानेर उनको स्थानमा हाल संखुवासभाका प्रमुख जिल्ला अधिकारी रहेका ईश्वरीप्रसाद अर्याललाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।

यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय गरिएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको गृह मन्त्रालयले जनाएको छ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा भएको गोली प्रहारमा एक जनाको मृत्यु भएको थियो। उक्त घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

सम्बन्धित समाचार