खाँदबारी । संखुवासभा प्रहरीले अदालतको फैसला कार्यान्वयन अभियानलाई तीव्रता दिँदै विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार संखुवासभा जिल्ला अदालत, चैनपुरले विभिन्न मितिमा गरेको फैसला कार्यान्वयन गर्ने क्रममा अभद्र व्यवहार मुद्दामा कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका पाँच जनालाई आइतबार र सोमबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी डिएसपी कुमारप्रसाद मैनालीका अनुसार पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–८ का अनिष श्रेष्ठ, नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थायी घर भई हाल खाँदबारी–१ बस्दै आएका बिनोद डोटेल, खाँदबारी नगरपालिका–३ की स्वस्तिका गुरुङ, खाँदबारी–१ का सनिस श्रेष्ठ तथा खाँदबारी–८ का सजिन कार्की रहेका छन्।
पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सोमबार संखुवासभा जिल्ला अदालत, चैनपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।


प्रतिक्रिया