सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने ८ जना प्रदर्शनकारी र ८ जना प्रहरी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीको गोली लागेर देवानगञ्ज–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको भए पनि उपचारकै क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको एक समूह र रातिको समयमा होहल्ला भएको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाइएको प्रहरीको भनाइ छ।
घटनामा घाइते भएका ८ प्रदर्शनकारीको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशलाई गोली लागेको जनाइएको छ।
झडपमा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेको छ। यसबाहेक प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार झडपका क्रममा कप्तानगञ्ज बजार क्षेत्रमा रहेका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनीसमेत भएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।


प्रतिक्रिया