दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईको पहल



विराटनगर । लामो समयदेखि अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले पहल थाल्नु भएको छ। मुख्यमन्त्री राईले बुधबार आफ्नै कार्यकक्षमा यहाँको समस्या समाधानबारे सरोकारवालासँग छलफल गरेका हुन्। यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र ४ का संघीय सांसद अमनलाल मोदीसहित, ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गरेका हुन्।

ग्रामथान–५ गिधनियाँमा झण्डै ३ किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ। छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताएका छन्। ‘यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु,’ मुख्यमन्त्री राईले भने, ‘समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ।’ विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गरे।

मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक/दुई हप्तामै पुनः सरोकारवाला निकायको बैठक बोलाउने बताए। यसका लागि प्राविधिकसहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा लिने पनि बताए। ‘अब यहाँको समस्या अन्त्य हुन्छ,’ मुख्यमन्त्री राईले भने, ‘विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुँदैन, यसका लागि विद्युत प्राधिकरणले पनि ध्यान दिओस्।’

गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गरेका थिए। गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगीव्यवसायीले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिएका हुन्। गत हिउँदमा पनि कोसी करिडोरको विवाद मुख्मन्त्री राईले समाधान गरेका थिए।

सम्बन्धित समाचार