खाँदबारी । लगातारको वर्षासँगै गएको पहिरोका कारण उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध भएको छ। भोटखोला गाउँपालिकाको सिबेक्पा डाँडामा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।
असार ९ गते रातिदेखि सो क्षेत्रमा पटक–पटक पहिरो खस्दै आएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा उत्तरी क्षेत्र भोटखोलातर्फ सवारीसाधन सञ्चालन ठप्प भएको छ।
सडक बन्द भएसँगै भोटखोला क्षेत्रमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको आपूर्तिमा समस्या देखिन थालेको छ। भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार सडक लामो समयसम्म सञ्चालनमा आउन नसके आवश्यक सामग्रीको अभाव सिर्जना हुन सक्ने अवस्था छ। उहाँले अवरुद्ध सडक सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई गाउँपालिकाको तर्फबाट पत्राचार गरिसकिएको जानकारी दिनुभयो।
उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार सिबेक्पा डाँडाको भूगोल अत्यन्त कमजोर रहेकाले वर्षा हुनेबित्तिकै पुनः पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। पहिरो हटाए पनि निरन्तर वर्षाका कारण सडक पुनः अवरुद्ध हुने अवस्था रहेको उहाँले बताउनुभयो।
योजना प्रमुख गुरुङले उक्त स्थान राष्ट्रिय राजमार्गका लागि उपयुक्त नभएको निष्कर्षसहित सडकको एलाइनमेन्ट परिवर्तन गर्ने अध्ययनसमेत सम्पन्न भइसकेको जानकारी दिनुभयो। कमजोर भूगोलका कारण हालको रुट असुरक्षित रहेको उहाँको भनाइ छ।
हाल उक्त सडक खण्डमा स्वामिनारायण निर्माण सेवाले ठेक्का लिएर सडक स्तरोन्नतिको काम गरिरहेको छ।


प्रतिक्रिया