सिलिचोङमा बाढी–पहिरोको कहर : बस्ती विस्थापनको जोखिम, सडक र सञ्चार सेवा ठप्प



खाँदबारी । लगातार तीन दिनदेखि भइरहेको वर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका बाढी–पहिरोबाट गम्भीर रूपमा प्रभावित भएको छ। गाउँपालिकाका विभिन्न बस्ती उच्च जोखिममा परेका छन् भने सडक, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ।

वडा नम्बर १ सिसुवाखोलाका अधिकांस बस्तिहरु विस्थापनको उच्च जोखिममा रहेको छ। निरन्तरको वर्षासँगै आएको बाढी–पहिरोका कारण गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन्। सिसुवाखोलामा स्थानीय स्तरमा सञ्चालित दुई वटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएको  गाउँपालिका अध्यक्ष भुपालराज राईले जानकारी दिनुभयो । वडा नम्बर १ स्थित कालिका माध्यमिक विद्यालयसमेत पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने गरि पहिरोले क्षति पुर्याएको अध्यक्ष राईले जानकारी दिनुभयो । बाढी–पहिरोको जोखिम बढेपछि तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगाने क्षेत्रका स्थानीय बासिन्दा सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन्।

सिसुवाखोलामा यसअघि २०७७ सालमा पनि यस्तै विपद्का कारण ९७ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका थिए । तीमध्ये ५५ घरपरिवारको खाँदबारीमा पुनर्वास भइरहेको छ भने बाँकी परिवारलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा पुनर्वास गर्ने कार्य जारी रहेको छ।

हाल गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक सम्पर्क विच्छेद भएको छ। केन्द्रीय विद्युत्, माइक्रो हाइड्रो, इन्टरनेट तथा अन्य सञ्चार सेवा अवरुद्ध हुँदा सरकारी सेवा प्रवाह तथा सम्पन्न योजनाहरूको भुक्तानी प्रक्रिया समेत प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी सम्बन्धित निकायहरूलाई यथार्थ विवरण उपलब्ध गराइसकेको अध्यक्ष राईले जानकारी दिएका छन्। तर निरन्तर वर्षा भइरहेकाले तत्काल प्रभावकारी राहत तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको बताइएको छ।

गाउँपालिकाले प्रदेश तथा संघीय सरकारलाई तत्काल प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, राहत, उद्धार तथा पुनर्स्थापनाको व्यवस्था गर्न आग्रह गरेको छ।

अध्यक्ष राईले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।

सम्बन्धित समाचार