डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि अस्पतालले रकम असुल्दै



काठमाडौं ।  डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् ।

अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ ।

सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ ।

हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए ।

महाशाखाका निर्देशक डा. लालले कुन व्यक्तिमा कुन प्रकारको भाइरस हो भनेर कीटले थाहा नहुने भन्दै डायग्नोसिसका लागि कीट आवश्यक नपर्ने बताए ।

सम्बन्धित समाचार