श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने पक्राउ



दाङ । तुलसीपुरका एक व्यक्तिले पेट्रोल छर्केर घरमा आगो लगाउँदा एक महिला घाइते भएकी छिन्।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवानिवासी उज्जवल श्रेष्ठले पेट्रोल छर्केर घरमा आगो लगाउँदा उनकी श्रीमती २८ वर्षीया माया श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ।

घाइते श्रेष्ठको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। श्रेष्ठकी श्रीमतीले आफूलाई पेट्रोल छर्केर मार्न खोज्दा घरमा पनि आगो लागेको बताएकी छिन्।

आगलागी हुँदा कोठामा रहेका दराज, कपडा, टिभीलगायतका सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

श्रेष्ठ श्रीमतीसँग पटक–पटक विवाद भएकाले आफू तनावमा भएको भन्दै घरमा आगो लगाउन खोजेको र आफू पनि आत्महत्या गर्न खोजेको प्रहरीसमक्ष श्रेष्ठले बयान दिएका छन्। आगो लगाउने श्रेष्ठ हाल प्रहरी नियन्त्रणमा रहेका छन्।

 

सम्बन्धित समाचार