सिलिचोङले १९औँ अधिवेशनबाट पारित गर्यो १८ वटा ऐन तथा नियमावली



नयाँ ऐन तथा नियमावलीहरु प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्नुहुँदै पालिका अध्यक्ष मेवाहाङ ।


ताम्कू ।
सिलिचोङ गाउँपालिका गाउँसभाको १९औँ अधिवेशनले १८ वटा नयाँ ऐन तथा नियमावलीहरु पारित गरेको छ । विषयगत समितिमा दफावार छलफल पछि असार १० गते सम्पन्न गाउँसभाको १९ औँ अधिवेसनको दोश्रो बैठकले सर्बसम्मत रुपमा नयाँ ऐन तथा नियमावलीहरु पारित गरेको हो ।

गाउँसभाबाट सहकारी ऐन, लैङ्गिक हिंसा निवारण ऐन, स्थानीय पूर्वाधार विकास ऐन, शिक्षा ऐन, बजार व्यवस्थापन ऐन, वातावरण तथा विपद् व्यवस्थापन ऐन, विवाद सुनुवाइ (उजुरी, कारबाही र किनारा) कार्यविधि ऐन पारित गरिएको हो । त्यस्तै कृषि तथा पशुपन्छी ऐन, खानेपानी (वितरण र नियमन) ऐन, सार्वजनिक लिखत प्रमाणीकरण र प्रकाशन ऐन, संस्था दर्ता ऐन, कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, स्थानीय सेवा (सञ्चालन र व्यवस्थापन) ऐन, जनस्वास्थ्य ऐन, स्थानीय ऊर्जा (उत्पादन, वितरण र नियमन) ऐन, कार्यपालिकाको कार्य सञ्चालन तथा कार्यसम्पादन नियमावली, गाउँसभा सञ्चालन नियमावली र सार्वजनिक खरिद नियमावली सर्वसम्मत रूपमा पारित गरिएको हो।

गाउँसभामा विधायन समितिका संयोजक टिकाराम कुलुङले ऐन तथा नियमावलीहरू पेश गरेका थिए। गाउँसभाले छलफलपछि ती सबै ऐन तथा नियमावली सर्वसम्मत रूपमा पारित गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रबिण राईका अनुसार विगतमा गाउँपालिकाले निर्माण गरेका स्थानीय ऐन, नियमावली तथा कार्यविधिहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरी निर्माण गरिएकाले कार्यान्वयनका क्रममा कानुनी जटिलता देखिने अवस्था थियो। सोही कारण सबै पुराना स्थानीय कानुन खारेज गरी संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित कानुनअनुसार नयाँ स्थानीय कानुन निर्माण गरी गाउँसभाबाट पारित गरिएको गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिनुभयो ।

नयाँ ऐन तथा नियमावली लागू भएसँगै गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन, सेवा प्रवाह, विकास निर्माण, सार्वजनिक खरिद, राजस्व व्यवस्थापन, शिक्षा, कृषि, सहकारी, वातावरण, जनस्वास्थ्यलगायतका क्षेत्र कानुनी रूपमा थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरिएको अध्यक्ष मेवाहाङको भनाई छ। स्थानीय सरकार सञ्चालनका सबै गतिविधिलाई स्पष्ट कानुनी आधार प्रदान गर्न तथा भावी दिनमा कानुनी विवाद न्यूनीकरण गर्ने उद्देश्यले नयाँ स्थानीय कानुनहरू निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार