सिलिचोङ गाउँपालिकाले खाँदबारी, इटहरी र काठमाडौंमा घुम्ती सेवा शिविर सञ्चालन गर्ने



संखुवासभा । सिलिचोङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही तथा गाउँपालिकाका नागरिकलाई लक्षित गर्दै खाँदबारी, इटहरी र काठमाडौंमा घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ।

स्थानीय सरकारबाट गाउँपालिकावासी नागरिकलाई सेवा तथा सुविधामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले हाल खाँदबारी, इटहरी र काठमाडौंमा स्वास्थ्य उपचार, अध्ययन, रोजगारी तथा अन्य व्यक्तिगत कामको सिलसिलामा बसोबास गरिरहेका सिलिचोङ गाउँपालिकाका नागरिकलाई लक्षित गरी घुम्ती सेवा शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार २०८३ साउन २५ र २६ गते खाँदबारीमा, साउन २७ र २८ गते इटहरीमा र भदौ १, २ र ३ गते काठमाडौंमा शिविर सञ्चालन हुनेछ।

शिविरबाट सामाजिक सुरक्षा परिचयपत्रको बायोमेट्रिक (फिंगर प्रिन्ट/आइरिस स्क्यान) मार्फत नवीकरण, सामाजिक सुरक्षा भत्तासम्बन्धी नयाँ सूचीकरण, नाम सच्याउने तथा अन्य आवश्यक सहजीकरण गरिनेछ। त्यस्तै जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइसम्बन्धी व्यक्तिगत घटना दर्ता सेवा, नेपाली नागरिकताको प्रमाणपत्रका लागि आवश्यक सिफारिस, वडा कार्यालय तथा गाउँपालिकाबाट प्रदान गरिने विभिन्न सिफारिस तथा प्रमाणीकरणसम्बन्धी सेवासमेत उपलब्ध गराइनेछ। सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता तथा सार्वजनिक सेवासम्बन्धी परामर्श र जानकारीसमेत शिविरबाट प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत प्रबिण राईले जानकारी दिनुभयो।

गाउँपालिकाले सेवा लिन आउने नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर (NID) को प्रतिलिपि, सामाजिक सुरक्षा परिचयपत्र (भत्ता कार्ड), पासपोर्ट साइजको फोटो दुई प्रति तथा सम्बन्धित सेवाका लागि आवश्यक अन्य प्रमाणपत्रसहित तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको छ।

बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त नागरिक, असहाय तथा ९० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रचलित कानुनबमोजिम सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ। लामो समयदेखि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर (NID) अभियानबाट वञ्चित लाभग्राहीका लागि समेत आवश्यकताअनुसार सहजीकरण गरिने बताईएको छ।

सम्बन्धित समाचार