उपनिर्वाचनको लागि भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरीले रोके



वीरगञ्‍ज ।मंसिर १४ मा हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा हुने वडाअध्यक्ष पदको उपनिर्वाचनमा उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न/गराउन निर्वाचन आचारसंहिता जारी गरे पनि सोको विरोधमा त्यहाँ समाजवादी पार्टीको समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतको कमाण्डमा गएको प्रहरी टोलीले सो भोजभतेर रोकेको हो।

यो वडामा समाजवादी पार्टीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेण्ट गाडेर भोजभतेरको आयोजना गर्न लागेको समयमा रोकिएको जानकारी दिँदै सशस्त्र प्रहरी निरीक्षक महतले भने, ‘आचारसंहिताविपरीत गर्न लागिएको सो भोजभतेर रोकिएको हो।’

उम्मेदवार तथा दलहरुलाई आचारसंहिताको पूर्णपालना गर्न आफैँ टोलीसँग अनुगमन गर्ने गरेको अनुगमनकर्ता तथा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले बताए। निर्वाचन कार्यालयले यसअघि आचारसंहिताविपरीत सो वडामा लगाइएको झण्डा तथा तुलहरु हटाइएको छ।

सम्बन्धित समाचार