खाँदबारी । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका गाउँपालिकाका स्थायी बासिन्दालाई लक्षित गरी प्रशासनिक शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै काठमाडौंमा विभिन्न पेशा तथा व्यवसाय गरी अस्थायी रूपमा बसोबास गरिरहेका महाकुलुङका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको जनाएको हो ।
गाउँपालिका तथा मातहतका पाँचवटै वडा कार्यालयबाट प्रवाह हुने विभिन्न प्रशासनिक सेवाहरू शिविरमार्फत उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयो । शिविरमा वडा कार्यालयबाट प्रदान गरिने व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा, मालपोत तथा राजस्व संकलन र विभिन्न प्रकारका सिफारिस उपलब्ध गराइने कुलुङले जानकारी दिनुभयो।
यस्तै, गाउँ कार्यपालिकाको कार्यालयबाट दीर्घरोगीको औषधि उपचार खर्चका लागि आवेदन (नयाँ तथा नवीकरण), विपन्न नागरिक उपचार सिफारिस, राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा गाउँपालिकाबाट प्रदान गरिने अन्य विभिन्न सिफारिससम्बन्धी सेवा पनि उपलब्ध हुने जनाइएको छ।
गाउँपालिकाका अनुसार प्रशासनिक शिविर २०८३ साउन २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ। शिविर गोकर्णेश्वर नगरपालिका ६ स्थित शेर्पा पार्टी प्यालेसमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।
महाकुलुङ गाउँपालिकाले शिविरमा उपस्थित भई आवश्यक प्रशासनिक सेवा लिन सम्पूर्ण सेवाग्राहीलाई अनुरोध गरेको छ।



प्रतिक्रिया