दशै नजिकिए संगै तरकारीको मूल्यमा मनपरी



काठमाडौं । चाडपर्वमा बजार अनुगमनमा गएका प्रतिनिधिलाई व्यापारी सोझै भन्छन्-‘दशैँ कमाउने बेला हो। अहिले छाडिदिनुस्।’ दशैँ नजिकिएसँगै बजार अनुगमनका लागि गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिलाई व्यापारीबाट यस्तै जवाफ आयो।

मन्त्रालयका प्रतिनिधिले संसदीय समिति समक्ष यो दुःख पोखे। चाडपर्वका क्रममा हुने कालबजारीको अनुगमनका लागि राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिले बनाएका कार्यदलका प्रतिनिधिसँगको छलफलका क्रममा मन्त्रालयका प्रतिनिधिले चाडपर्व मूल्य नियन्त्रणमा जटिलता थपिएको बताएका थिए।

‘हामी मन्त्रालयमा छलफलमा गएका थियौँ। मन्त्रीज्यूचाहिँ हुनुहुन्न थियो। त्यहाँ विभिन्न विभागका प्रतिनिधिहरू हुनुहुन्थ्यो’, बजार अनुगमन कार्यदलकी संयोजक सांसद डा. विमला राई पौड्यालले भनिन्, ‘त्यो बेला उहाँहरूले अरू बेला अनुगमन गर्न जनशक्ति छैन, चाडपर्वमा गर्दा पनि व्यापारीले सहयोग गर्देनन्। कतिले किन हामीलाई नसोधी आएको र कतिले कमाउने बेला दशैँ नै हो छाडिदिनुहोस् भन्छन् भनेर गुनासो गर्नुभएको थियो।’ चाडपर्वका बजारमा व्यापारीका यी प्रतिनिधिमूलक जवाफ मात्रै हुन्। पछिल्लो समय काठमाडौंकै बजारमा मनपरी मूल्य निर्धारण हुने गरेको छ।

दीगो विकास समितिले गठन गरेको उपसमितिले अनुगमनका क्रममा काठमाडौंमा आयत हुने तरकारीमा व्यापरीले मनपरी मूल्य निर्धारण गर्ने गरेको पाइएको छ।

तरकारी तथा फलफूलका लागि राजधानीको प्रमुख बजार कालीमाटी फलफूल तथा तरकारी बजारमै व्यापारीले मनपरी ढंगबाट मूल्य निर्धारण गर्ने गरेको पाइएको हो। ‘कालीमाटीको थोक बजारमै एउटै तरकारीको मूल्य फरक फरक पाइयो’, सांसद पौड्यालले भनिन्, ‘व्यापरीले आफूखुसी मूल्य निर्धारण गर्ने रहेछन्।’

कालीमाटीमै चलाइएको खुद्रा तरकारी पसलमा समेत अनेपेक्षित रूपमा मूल्य फरक रहेको सांसद पौड्यालले बताइन्। ‘थोकमा पनि फरक फरक मूल्य त छ नै’, उनले भनिन्, ‘त्यहीँभित्रबाट बाहिर ल्याएर सामान बेच्दा पनि दोब्बर मूल्य बढी लिने गरेको भेटियो।’

तरकारीको मूल्य निर्धारणमा कालीमाटी फलफूल तथा तरकारी विकास समितिको कुनै भूमिका नहुँदा व्यवसायीले आफूखुसी मूल्य बढाउने गरेका छन्।

सम्बन्धित समाचार