पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा आठ जनाको उम्मेद्वारी दर्ता



फाल्गुनन्द । आगामी मंसिर १४ गते हुने स्थानीयको उपनिर्वाचनका लागि पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा आठ जनाको उम्मेद्वारी दर्ता भएको छ ।निर्वाचन आयोगले आज उम्मेद्वारी दर्ताको कार्यतालिका निर्धारण गरेको थियो । निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दका अनुसार गाँउपालिकाको प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ, नेपाली काँङ्ग्रेसका वृजहाङ आङ्देम्बे, समाजवादी पार्टीकी विमला आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका ससुहाङ चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मोतिप्रसाद लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चोम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको थियो । दलहरुको उम्मेद्वारीको मनोनयन दर्ताका क्रममा साँस्कृतिक झाँकी सहितको ¥याली निकालेका थिए । उपनिर्वाचनका लागि फाल्गुनन्द गाँउपालिकामा १६ हजार ५७७ जना मतदाता रहेका छन ।

यस्तै हिलिहाङ गाँउपालिका वडा नं. ७ को वडाध्यक्ष पदमा छ जनाको उम्मेद्वारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालय हिलिहाङका अनुसार वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गेहनाथ रिजाल, नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो, राष्ट्रिय प्रजातन्त्र पार्टीका तुलप्रसाद पन्थाक, समाजवादी पार्टीका भुवानीप्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मुक्तिनाथ खनाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

यस्तै फिदिम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा सात जनाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई, नेपाली काँग्रेसका सुवराज थापा, समाजवादी पार्टीका गौरव लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिलन गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी कल्पना राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वीरबहादुर केरुङ र राप्रपा लोकतान्त्रिककी जानुका थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार