पाँचथरमा फाल्गुनन्द लिङदेनको कर्मभूमि लब्रेकुटी धार्मिक पर्यटकीय गन्तव्य बन्दै



पाँचथर । १६ औँ राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको कर्मभूमि लब्रेकुटी धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।फिदिम नगरपालिका–५ मा रहेकाे यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन स्थानीय तहदेखि प्रदेश सरकारको नजर परेसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

पछिल्लो समय यस क्षेत्रमा पर्यटक लक्षित पूर्वाधार निर्माणसँगै विभिन्न माध्यमबाट प्रचार–प्रसार भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृदि भएको लब्रेकुटी मन्दिरका पुजारी ध्रुब तुम्बापाले बताउनुभयो ।भर्खरै मात्र यस क्षेत्रमा प्रदेश–१ सरकारको ८० लाख रुपैयाँको लागतमा धार्मिक प्रवचन स्थलका साथै सवारी पार्किङ स्थल निर्माण गरिएको छ ।

समुद्री सतहबाट २४ सय फिट उचाइमा रहेको लब्रेकुटीबाट देखिने मनोरम हिमशृङखलाको दृष्यले जो कोहीलाई लोभ्याउँछ । विश्वको सर्वाेच्च शिखर सगरमाथा साथै कुम्भकर्ण हिमाल तथा अन्य दर्जनौँ हिमशृङखलाहरु यहाँबाट सहजै दृश्यावलोकन गर्न सकिन्छ ।यहाँबाट ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा र संखुवासभाका विभिन्न मनाेरम दृश्य नियाल्न सकिन्छ ।

मौसम सफा भएका बेला तराईका सुन्दर फाँटसमेत यहाँबाट अवलाेकन गर्न सकिन्छ ।यस ठाउँमा नेपालसँगै भारतको सिक्किम, दार्जिलिङ, भुटान र बर्माका भक्तजन तथा पर्यटकहरु आउने गर्दछन् । किराँत समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको कर्मभूमिको रुपमा परिचित यो क्षेत्र फाल्गुनन्दले आफ्नो जीवनकालमा पहिलोपटक मन्दिर निर्माण गरी जप, ध्यान गरेको पवित्र स्थलको रुपमा समेत परिचित छ ।

लब्रेकुटी किरात धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र हो । महागुरुसँग सम्बन्धित वस्तुहरुको अध्ययन अवलोकनका लागि महत्वपूर्ण मानिने यो क्षेत्र किराँत साम्जिक मुन्धुम साथै धर्म, दर्शन र सिरिजंगा लीपिको पठन–पाठन हुने पाठशाला पनि रहेको किराँत साङसेन वरक चुम्लुङ माङहिम समितिका सचिव सुवास तुम्बापाेले बताउनुभयो ।

सम्बन्धित समाचार