सहकारी संस्थामा नेपाली नक्‍कली नोट भेटियो



स्याङ्जा ।  स्याङ्जाको वालिङस्थित सहकारी संस्थामा नेपाली नक्‍कली नोट भेटिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड कार्यालयमा कारोवारका क्रममा संकलित रकममध्ये केही नक्‍कली नोट भेटिएको हो ।

नगरपालिकाका विभिन्न ३ वटा सहकारी संस्थाबाट संकलित रकममध्ये पाँच सय र एक हजारका नक्‍कली नोट भेटिएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले जनाएको छ । सहकारीमा जम्मा भएको मध्ये ५ नोट नक्‍कली भएको शाखा प्रमुख सुवास आचार्यले बताए । ‘नोट डिटेक्टर मेसिनमा राख्दा नक्‍कली भएको थाहा भयो,’ उनले भने।

यसैसाता पाँच सय रुपैयाँका ४ वटा र एक हजार रुपैयाँका एउटा गरी ५ वटा नक्‍कली नोट भेटिएको हो । भेटिएको नक्‍कली नोट राष्ट्र बैंक पोखरामा पठाइएको आचार्यले जानकारी दिए । स्याङ्जामा रहेका ३ सय ५० भन्दा बढी सहकारी संस्थाको कारोबार राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय वालिङबाट गरिँदै आएको छ।

सम्बन्धित समाचार