राजधानीका ६५२ परिवारलाई महाकुलुङ गाँउपालिकाले बाड्यो राहत



काठमाडौं । महाकुलुङ गाँउपालिकाले जिल्ला बाहिर रहेका ६५२ घररपरिवार आफ्ना नागरिकहरुलाई राहत वितरण गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समय गरेको लकडाउनको कारण राजधानीमा अप्ठ्यारामा परेका आफ्ना ५ वटै वडाका नागरिकहरुलाई गाँउपालिकाले राहत वितरण गरेको हो ।

गाँउपालिका अध्यक्ष सागर किराँतीको नेतृत्वको टोली राजधानी काठमाडौं आएर प्रति परिवार १ बोरा चामल, ४ केजी दाल र १ लिटर तेल राहतको रुपमा आईतबार वितरण गरिएको हो । आफूले सोचेभन्दा बढी र गुणस्तरयुक्त राहत पाएपछि काठमाडौमा रहेका महाकुलुङवासीहरुले गाउँपालिकाको नेतृत्व,कर्मचारी र स्वयमसेवकहरुप्रति खुलेरै आभार प्रकट गरेका थिए ।

उपत्यकाका धुम्बाराही,कपन, गोकर्ण, नयाँबस्ती, कोटेश्वर, टोखा, जावलाखेल, किर्तिपुर,बाफल,कलङ्की, बुढानिलकन्ठ, जडीबुटी, चावाहिल तथा बानियाटार लगायतका विभन्न स्थानहरुमा राहत वितरण गरिएको थियो। यो भन्दा अगाडी अति नै समस्यामा परेकाहरुलाई उद्धार गरी पालिकाकै खर्चमा गाउँ लगिएपछि बाँकी काठमाडौंमा नै बस्न बाध्य भएकाहरुलाई खोजीखोजी सबैलाई राहत दिइएको हो ।

गाउँपालिकाको प्रशासनिक खर्च तथा जनप्रतिनिधिहरुको एक महिनाको पारिश्रमिक र प्रशासन कर्मचारीहरुको केही दिनको तलब,विभिन्न वडाका अध्यक्ष तथा कर्मचारीहरुको तलबसमेत राहत कोषमा जम्मा गरी राहत वितरण गरिएको गाउँपालिका प्रमुख सागर किराँतीले बताए । राहत कोषमा वडा नं ३ का अध्यक्ष डेक बहादुर कुलुङले सबैभन्दा बढी तीन महिनाको आफ्नो पारिश्रमिक जम्मा गरेका थिए ।

राहत साच्चिकै पीडित र दुखीहरुको हातमा पुग्न सकुन भनेर पालिका कर्मचारीसहितको टोली लिएर आफूहरु काठमाडौं आएको प्रमुख सागर किराँतीको भनाई थियो । प्रमुख किरातीसहित, प्रमूख प्रशासकीय अधिकृत लबुन राई, २ नं वडा अध्यक्ष प्रदिप कुलुङ, लेखा अधिकृत नारायण काजी बस्नेत, पशुपन्छी सेवा शाखा प्रमूख डा. बिर्खराज कुलुङ लगायतका टोलीहरु काठमाडौं आएका हुन् । समन्वय गर्नको लागि काठमाडौमा स्वयमसेवकको रुपमा शुक्रमणि कुलुङ, दिलिपसिंह कुलुङ प्रेम कुलुङ, कुमार जीत कुलुङ शरद, कान्छामान कुलुङ, टार्जन कुलुङ, गणेश कुलुङ, संकल्प किराती, विकास कुलुङ, कुमार विक, नेत्र कुलुङ, अभि कुलुङ लगायत रहेका थिए ।

गोकर्णलगायतका केही केन्द्रहरुमा एउटै परिवारबाट ३-४ जनाले राहत लिएको जानकारी आएपछि स्वयमसेवकहरुले परिचयपत्र चेकजाँचमा कडाई गरेका थिए । राहत लिनको लागि आफ्नो परिचय खुल्ने सरकारी कागजात अनिवार्य गराइए पनि एउटै घर वा कोठा परिवारमा दुई वा दुईभन्दा बढी नागरिकता भएको र उनीहरुको बुवाको नामसहितको पारिवारिक विवरण बन्दाबन्दी र समय अभावको कारण मिलान गर्न नसक्दा खराब नियत भएकाहरुले सरकारको नियम विपरित फाईदा लिएको स्वयमसेवक शुक्रमणि कुलुङले वताए ।

आफूहरु आफ्नो नागरिकहरुको उद्धार कार्यको लागि एउटा स्वयमसेवकको रुपमा रहेर काम गर्न पाउदा साह्रै खुसी भएको पर्यटन व्यावसायी दिलिपसिहं कुलुङले  बताए । यो सङ्कटको अवस्थामा गाउँपालिकाले प्रशंसा गर्न योग्य काम गरेर जनताको मन जितेको बताउदै गाउँपालिका लगायत आफ्नो सहकर्मी स्वयमसेवक मित्रहरु सबै जना धन्यवादको पात्र रहेको कुलुङले वताए ।

सम्बन्धित समाचार