अरुण उपत्यका क्षेत्रको २ अर्बको रुद्राक्ष कारोबार संकटमा



संखुवासभा । गत वर्ष ५ अर्ब बराबरको कारोबार गरेका रुद्राक्ष व्यवसायीको आम्दानी यस वर्ष भने गुम्ने अवस्थामा पुगेको छ । गत वर्षमा रुद्राक्ष व्यापारबाट राम्रो आम्दानी गरेका व्यवसायीहरू यस वर्ष भने आफ्नो करोडौंको लगानी डुब्ने हो कि भन्ने चिन्तामा रहेको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुङ्खे बताउँछन् ।

उनले गत वर्षहरूमा वार्षिक करिब २ अर्ब बढीको रुद्राक्ष कारोबार हुँदै आएको जानकारी दिए । कोरोना भाइरसका कारण लकडाउनको समयावधि लम्बिँदै गएकाले चिनियाँ र भारतीय खरिदकर्ताहरू यस वर्ष संखुवासभा आउने सम्भावना कम हुँदा अर्बौंको लगानी डुब्ने प्रवल सम्भावना बढेको बिसुङ्खेले बताए । अघिल्लो वर्ष असार अन्तिमदेखि नै चिनियाँ पर्यटकहरू गाउँ गाउँ डुल्थे । यस वर्ष रुद्राक्ष टिप्ने बेला हुँदा समेत कुनै खरिदकर्ता नहुँदा करोडौं लगानी गर्नेहरू आर्थिक समस्यामा पर्न थालेको छन् ।

गुणस्तरीय रुद्राक्ष फलाउन धेरै रुद्राक्ष व्यवसायीले गाउँ गाउँका रुद्राक्ष ठेक्कामा लिएर बोटमा औषधि लगाएका छन् । बाँकी रकम बोटबाट टिपेपछि दिने शर्तमा व्यवसायीले अधिकांश रुद्राक्ष धनीलाई अग्रिम पेश्की दिएका छन् । न त पेश्की फर्कन्छ न त बेचेर आम्दानी गर्ने स्थिति नै छ । आफूले वर्षौंदेखि रुद्राक्ष व्यवसायमा लगानी गरे पनि यसवर्ष जस्तो संकट कहिल्यै नआएको खाँदबारी १ का तिलक विसुङ्खे बताउँछन् ।

गुणस्तरीय रुद्राक्ष फलाउने नाममा ५० लाख बढीको औषधि हालियो तर रुद्राक्षको बजार चम्कने कुनै सम्भावना छैन । यसवर्ष धेरै कृषक र व्यवसायीहरूको लगानी डुब्ने उनको भनाइ छ । ऋणपान गरेर भएपनि गाउँगाउँ पुगेर व्यवसायीले रुद्राक्षमा ठूलो लगानी गरेका छन् । वर्षौंको कमाई एकैछाक हुनेगरी औषधि र मलजल गरेका छन् तर रुद्राक्ष खरिदका लागिी चिनियाँ र भारतीय व्यवसायी आएनन् । अघिल्लो वर्ष फाट्टफुटट्ट मात्र औषधि प्रयोग हुँदै आएकोमा यसवर्ष धेरैले रुद्राक्ष बोटमा १ करोडदेखि ५ करोडसम्मको औषधी र मल प्रयोग गरेका छन् ।

अधिकांश बोटमा लामो बर्षातका कारण रुद्राक्ष अडिएको छैन । अडिएको रुद्राक्ष समेत बिक्ने सम्भावना नहुँदा धेरैको लगानी डुब्ने अवस्था रहेको खाँदबारी ८ का व्यवसायी भीम कार्की बताउँछन् । उनले आफूले ३ सयभन्दा बढी बोट ठेक्कामा लिएर औषधि र मल र भिटामिन प्रयोग गरेको बताए । चिनियाँ र भारतीय व्यापारी आउन सक्ने परिस्थिति भए राम्रै आम्दानी हुने उनको आकलन छ । यसबाली चाईनिज ब्यापारी आउन सकेको भए रुद्राक्षको बोट ठेक्कामा करिब ३० लाखको लगानी भएपनि करोड जतिको ब्यापार हुन्थ्यो उनले भने तर यसपालि रुद्राक्षले मुल्य नपाउने प्राय निश्चित भएको उनको भनाइ छ ।

संखुवासभामा केही वर्षअघिदेखि रुद्राक्ष व्यवसायीहरूले गाउँ गाउँका कृषकको रुद्राक्षको बोट नै वार्षिक रूपमा ठेक्कामा लिएर लगानी गर्दै आएका छन् । व्यापारीमध्ये कतिपय नेपाली व्यवसायीले चिनियाँ व्यापारीसँग सहकार्य गरेरै कृषकको रुद्राक्ष बोटमा लगानी गर्दै आएका छन् भने कतिले आफ्नै मात्र लगानीमा पनि गाउँ गाउँका बोटमा रकम लगानी गरेका छन् ।

कृष्णराज शाक्य, कारोबार दैनिकबाट

सम्बन्धित समाचार