दाजुभाईको लोभ लाग्दो टमाटर खेती, माग धन्नै मुस्किल (फोटो फिचर सहित)




खाँदबारी । लक डाउनको समयमा आम नागरिक घरभित्रै रहिरहदा दुई दाजुभाईलाई भने टमाटर खेतीले भ्याई नभ्याई छ । खाँदबारी नगरपालिका ४ पांमामा १० रोपनी क्षेत्रफलमा लगाएको टमाटर राम्रो मुल्यमा विक्रि गरिरहेका बलबहादुर कुलुङ र गंगाराज कुलुङले मनग्गे आमदामी लिईरहेका छन् ।

यो समयमा टमाटरको माग उच्च हुन्छ भन्ने बुझेका दाजुभाईले हाल दैनिक ३ सय किलोग्राम बढि टमाटर उत्पादन गरेर विक्रि गर्दै आएका छन् । अन्य सिजनको समयमा भन्दा यो बेला उच्च मुल्य समेत पाउने भएकोले टनेल बनाएर टमाटर उत्पादन गरेका हुन् । अहिले सङ्खुवासभाको बजारमा टमाटरको मुल्य प्रतिकिलो एक सय ६० रुपैयाँ छ । जिल्लाका ब्यापारिहरुलाई भने एक सय २० रुपैयाँको दरले उपलब्ध गराउदै आएका छन् ।

हाल भईरहेको उत्पादनले सम्पर्कका ब्यापारिहरुको माग धान्न नसकेको कृषक बलबहादुर कुलुङको भनाई छ । लक डाउनको समयमा तराईको तरकारीहरु अत्यन्तै कम आउने र स्थानीय उत्पादन पनि न्युन भएकोले बजार माग उच्च रहेको उहाँको भनाई छ । ब्यापारिहरुले माग गरे जत्ति दिन नसकेपछि कत्तिपय बारीमै आईपुग्ने गरेको कुलुङले बताउनुभयो । ‘मागे जत्ति दिनै सकिदैन, यो पटक तपाईलाई पुग्दैन भन्दा पनि बोटमै लिन आईपुग्छन्’, कुषक कुलुङले भन्नुभयो ।

१२ वटा टनेल बनाएर टमाटर उत्पादन गर्दै आएका दाजुभाईले २ जनालाई रोजगारी समेत दिएका छन् । गोडमेल र टमाटर टिप्नको लागि एक पुरुष र एक महिलालाई रोजगारी दिदै आएका हुन् । यो समयमा अत्याधिक बर्षात हुने भएकोले टनेल अनिबार्य रहेको कृषक गंगाराज कुलुङको भनाई छ । टनेल बाहिर रोपे बर्षाको कारण मर्ने, फल नलाग्ने भएकोले अनिबार्य टनेल हाल्नु परेको कुषक कुलुङको भनाई छ ।

सुरुमा पाँच लाख रुपैयाँ लगानीबाट सुरु गरिएको खेतीबाट अहिले आफुहरु सन्तुष्ट रहेको बलबहादुर कुलुङको भनाई छ । लक डाउनको समयमा मात्र करिव ५ लाख रुपैयाँ बराबरको टमाटर विक्रि भईसकेको कुलुङले बताउनुभयो । पहिलो लटमा अनुभवको लागि एउटा टनेल भित्र र टनेल बाहिर टमाटर लगाएको र राम्रो उत्पादन हुने देखिएपछि १२ वटा टनेलमा बिरुवा लगाएको कुलुङले जानकारी दिनुभयो । आफ्नो पाँच रोपनी बाहेक बार्षिक ५० हजार रुपैयाँ तिर्ने गरि जग्गा भाडामा लिएर दुई दाजुभाईले खेती सुरु गरेको बताएका छन् ।

भाई गंगाराज आफै पनि कृषी प्राविधिक (जेटिए) हुन् । कृषी प्राविधिकको रुपमा लामो समय प्रोजेक्टमा काम गरिसकेपछि उक्त जागरि छोडेर आफैले खेती सुरु गरेका हुन् । दुई दाजुभाईलाई भतिजी छोरीले पनि प्राविधक सहयोग गर्दै आएको बताएका छन् । भतिजी पनि आईएसई एजी हुन् । प्राविधिक रुपमा पुग्दो जनशक्ति रहेको दाजुभाईले अन्य तरकारी खेती पनि लगाउने तयारी गरिरहेको बताएका छन् ।

गोरखापत्र दैनिकबाट साभार गरिएको

 

सम्बन्धित समाचार