साना देश ठूला सफलता


१६ श्रावण २०७८, शनिबार


टोकियो । जापानमा जारी ३२औं गृष्मकालिन टोकियो ओलम्पिक धेरैका लागि ऐतिहासिक सावित भएको छ भने केही खेलाडीलाई भने नमिठो पीडा पनि दिएको छ। कोरोना कहरका बिच सुरु भएको टोकियो ओलम्पिकमा आयरल्यान्ड, बरमुडा, फिलिपिन्स, अलास्कालगायतका राष्ट्रले ऐतिहासिक स्वर्ण पदक भित्र्याउन सफल भएका छन् भने सिमोन्स बाइल्स, नाओमी ओसाका, अस्लेइघ बार्टी, जाड जोन्सलगायतका खेलाडीका लागि टोकियो ओलम्पिक बिर्सन लायक पनि बनेको छ। यही ओलम्पिकमा जापानकी १३ वर्षीया मोमिजी निसियाले स्वर्ण पदक जित्दै इतिहास बनाउन सफल भइन्। उनले स्केटबोर्डिङतर्फ स्वर्ण पदक जितेकी हुन्।

आयरल्यान्डले पनि टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्न सफल भएको छ। रोइङमा पल ओडोनोवल र फिन्टन म्याकार्थीले आयरल्यान्डलाई पहिलो स्वर्ण दिलाएका हुन्। ओडोनोवल र म्याकार्थीले रोइङको पुरुष डबल्समा राष्ट्रका लागि ऐतिहासिक स्वर्ण दिलाएका हुन्। उनीहरूले जर्मनीलाई पछि पार्दै स्वर्ण जितेका हुन्।

यसैगरी बरमुडा टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने सबैभन्दा सानो मुलुक बनेको छ। जम्मा ६३ हजार जनसंख्या रहेको बरमुडाका लागि फ्लोरा डफीले ट्रायथलनमा स्वर्ण पदक जितेकी थिइन्। चौथो पटक ओलम्पिकमा सहभागी ३३ वर्षीया डफीले एक घण्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेकी हुन्। उनले ५६ खेलाडीलाई पछि पार्दै पहिलो पटक बरमुडालाई स्वर्ण पदक दिलाएकी हुन्।

बरमुडाले यसअघि पनि ओलम्पिकमा नयाँ कीर्तिमान बनाएको थियो। सन् १९७६ मा क्लेरेस हिलले बक्सिङमा कांस्य पदक दिलाउँदा ओलम्पिकमा पदक जित्ने सबैभन्दा कम जनसंख्या भएको मुलुक बनेको थियो। डफीले बरमुडाका लागि थुप्रै कीर्तिमान बनाएकी थिइन्। उनी सन् २०१८ मा कमनवेल्थ गेम्समा पदक जित्ने पनि पहिलो खेलाडी बनेकी थिइन्।

यसैगरी अमेरिकी राज्य अलास्का पनि ओलम्पिकमा स्वर्ण जित्ने सानो मुलुक बनेको छ। अलास्काकी लिडिया ज्याकोबीले पौडीको एक सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन्। १७ वर्षीया ज्याकोबीले एक मिनेट ०४स् ९५ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेकी हुन्। उनले दक्षिण अफ्रिकाकी तात्जाना सनमेकरलाई पछि पारिन्। सन् २०१६ को रियो ओलम्पिककी स्वर्ण विजेता लिली किङले तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो।

यसैगरी फिलिपिन्सले ओलम्पिकमा सहभागिता जनाएको ९७ वर्षपछि पहिलो पटक स्वर्ण पदक जितेको छ। टोकियो ओलम्पिकमा भारोत्तोलनको महिला ५५ केजी तौलसमूहमा हिडिलिन डियाजले फिलिपिन्सलाई पहिलो स्वर्ण पदक जिताएकी हुन्। फिलिपिन्सले सन् १९२४ को पेरिस ओलम्पिकबाट सहभागिता जनाउन थालेको हो। त्यसयता लगातार सहभागिता जनाए पनि स्वर्ण पदक भने जित्न सकेको थिएन। फिलिपिन्सले ९७ वर्षको अवधिमा तीन रजत र सात कांस्य पदक मात्रै जितेको थियो। ऐतिहासिक पदक जितेसँगै सरकारले उनलाई करिब आठ करोड रुपैयाँ दिने घोषणा गरेको छ। त्यस्तै उनलाई दुईवटा घर उपहार दिने पनि घोषणा गरिएको छ। ३० वर्षीय हिडिलिनलाई चर्चित घरजग्गा व्यवसायी डा। एन्ड्रयु एल टानले क्वेजोन सहरमा एउटा घर दिने भएका छन्। त्यस्तै अर्को रियलस्टेट कम्पनीले पनि राजधानी मनिलामा हिडिलिनलाई घर दिने घोषणा गरेका छन्। चार पटककी ओलम्पियन हिडिलिनले कुल २२४ केजी तौल उचाल्दै स्वर्ण पदक जितेकी हुन्। यसअघि उनले सन् २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्।

दुई पटककी ओलम्पिक च्याम्पियन तेक्वान्दो खेलाडी जाड जोन्स टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिन्। उनी बेलायतकी किमिय अलिजादेहसँग पराजित भएकी थिइन्। लगातार तीन पटक ओलम्पिक च्याम्पियन बन्ने लक्ष्यमा रहेकी जोन्स एलिजादेहसँग १६–१२ ले पराजित भएकी थिइन्। यसैगरी ओलम्पिकमा चार पटक स्वर्ण पदक जितिसकेकी अमेरिकी जिमन्यास्ट सिमोन बाइल्सले भने बिचैमा खेल त्याग्दै ओलम्पिक नखेल्ने निर्णय गरिन्। उनले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान केन्द्रित गर्न भन्दै ओलम्पिक छाड्ने निर्णय गरेकी हुन्। यसैगरी टेनिसका दुई स्टार नाओमी ओसाका र अस्लेइघ बार्टी पनि टोकियो ओलम्पिकबाट चाँडै नै बाहिरिएका छन्।

सम्बन्धित समाचार