मुख्यमन्त्री आचार्यलाई पद जोगाउन सकस



विराटनगर । पदभार ग्रहण गरेको तीन दिन नबित्दै एक नम्बर प्रदेशका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई पद जोगाउन सकस परेको छ।

नियुक्तिलगत्तै अल्पमतमा परेका मुख्यमन्त्री आचार्य अहिले कसरी विश्वासको मत प्राप्त गर्ने भन्ने तनावमा छन्। माधव नेपालले नयाँ पार्टी खोलेपछि यसअघि एउटै समूहमा रहेका सांसदलाई फकाएर एमालेमै राख्ने र बहुमत जुटाउने कसरत आचार्यले सुरु गरेका छन्।

त्यहि सिलसिला आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तारमा देखाए। उनले माधव नेपालको नेकपा एकीकृत समाजवादीमा जानसक्ने दुई सा‌ंसदलाई मन्त्री बनाइदिए। समाजवादीमा जान सांसदहरु संगठित भइरहँदा आचार्यले मन्त्री बनाएपछि प्रदेशसभामा सशक्त देखिएको उपस्थिति कमजोर बन्ने चिन्ता नेपाल पक्षलाई छ।

समाजवादी रोज्ने तयारी गरिरहेका १० सांसद अब कुनै पनि हालतमा एमालेमा नजाने अडान लिइरहेका छन् भने गएकाहरुलाई पनि एक महिने सांसद नबन्न सुझाव दिईरहेका छन्।

समाजवादी रोज्ने १० सांसदको निर्णय

एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बाङ्ग, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा अब पार्टी परिवर्तन गर्ने निष्कर्षमा पुगेका छन्। उनीहरुले निर्वाचन आयोगमा आउने मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेका छन्।

उनीहरुले आचार्य नेतृत्वको सरकार ढल्ने र एक महिना भित्र गठबन्धनको सरकार बन्ने निष्कर्ष निकालेका छन। ‘अहिले बनेको सरकार संविधान विपरीत छ, दल विभाजन भएर अर्को दल बनिसकेका सांसदहरुको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार हामी विस्थापित गर्छौं।’ समाजवादी जाने तयारीमा रहेका एक सांसदले भने, एक महिनाभित्र यो सरकार ढल्छ।

सम्बन्धित समाचार