भोजपुरका ठुलामात्र होइन साना व्यवसायीहरूलाई पनि कर तिर्नका लागि धरान–धनकुटा पुग्नुपर्ने बाध्यता थियो तर जिल्लामा नै करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि कर सङ्कलनमा समेत वृद्धि भएको छ ।
गत वर्षबाट जिल्लामा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो । कार्यालयका कर अधिकृत रूपक न्यौपानेले विगतमा अन्य जिल्लामा कर तिर्नका लागि जानुपर्ने अवस्था भएपनि अब भने सहज भएको बताए । ‘जिल्लामा नै कर कार्यालय खुलेपछि अन्य जिल्लामा गएर कर तिर्न नभ्याएकाहरूले पनि तिर्न थालेका छन्,’ उनले भने ।
करदाता सेवा कार्यालय भोजपुरले आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड १३ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्षको सुरुआतसँगै श्रावण महिनामा पनि तीन करोड राजस्व सङ्कलन गरिसकेको छ ।
उद्योग वाणिज्य सङ्घ भोजपुरका महासचिव नवीन प्रधान राजस्व तिर्नका लागि सेवाग्राहीलाई अर्काको जिल्ला पुग्नुपर्ने अवस्थामा गत वर्षबाट जिल्लामा करदाता सेवा कार्यालय खुलेकाले राजस्व सङ्कलनमा समेत सहजता भएको बताउँछन् ।
जिल्लामा करको दायरामा आउने करदाताको सङ्ख्यामा समेत क्रमिक रूपमा वृद्धि हुँदै जान थालेको छ । गत वर्षको असोज महिनाबाट भोजपुरमा करदाता सेवा कार्यालय स्थापना भएको हो । जिल्लामा नै कर तिर्न पाउँदा आफूहरूलाई समेत सहज भएको ब्यवसायी प्रकाश श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘कार्यालय स्थापना भएपछि तिर्नुपर्ने करहरूसमेत समयमा तिर्न पाइएको छ, नत्र धरान–धनकुटा पुगेर बुझाउनुपर्ने अवस्था थियो ।’
करदाता सेवा कार्यालयका प्रमुख न्यौपानेले अहिले करदातासमेत थपिँदै गएको बताए । उनले भने, ‘जिल्लामा करदाता सेवा कार्यालय खुलेको सहजताले पनि होला, अहिले करदातासमेत विगतको तुलनामा थपिँदै गएका जानुभएको छ । करसम्बन्धी सचेतनामुलक कार्यक्रमसमेत कार्यालयले गर्दै आइरहेको छ ।’
कार्यालय खुलेको एक वर्ष पनि पूरा भइनसकेको अवस्था भोजपुरका लागि करदाता सेवा कार्यालय सहयोगी बनेको उद्योग वाणिज्य सङ्घ भोजपुरकी कार्यालय सचिव मीना कार्कीले बताइन् । ‘पहिलै नै स्थापना हुनुपर्ने करदाता सेवा कार्यालय खुलेर राजस्वसम्बन्धी कार्य गर्दै आइरहेको छ, यसले करदातालाई समेत सहज भएको छ ।’
‘स्थानीयस्तरमै करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि कर तिर्न मात्र होइन स्थायी लेखा नम्बर लिन, नवीकरण गर्न र अन्य करसँग सम्बन्धित कार्य गर्नसमेत सहज भएको छ,’ व्यवसायी फविन्द्र प्रधानले भने ।
प्रतिक्रिया