चिचिला गाउँपालिकाका ३२ युवाहरुले लिन थाले ड्राइभिङ तालिम



खाँदबारी । चिचिला गाउँपालिकाका ३२ युवाहरुले सवारी चालक तालिम लिन सुरु गरेका छन् । अरुण तेश्रो परियोजनाको प्रभावित क्षेत्रमा लागु गर्ने सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत तुम्लिङटारमा बुधबारबाट तालिम लिन सुरु गरेका हुन् ।

सवारी चालकको तालिम लिन ईच्छुकहरुको लागि यस अघि गाउँपालिकाले सुचना जारी गरेको थियो । उक्त सुचनापछि ५० जनाले आवेदन फारम भरेको थियो । त्यस मध्ये ३२ जनाले यस पटक तालिम लिन सुरु गरेका हुन् । अन्यले अर्काे चरणमा तालिम लिनेछन् ।

प्रशिक्षार्थीहरुले सिटिईभिटिको पाठ्यक्रम अनुसार तालिम लिन सुरु गरेका हुन् । उक्त पाठ्यक्रम अनुसार २२० घण्टा तालिम लिए पश्चात सवारी चालक अनुमति पत्रको परिक्षा दिनेछन् ।

तालिम लिनेहरुलाई खाना र बस्नको समेत सुविधा दिईएको छ । यस तालिमका लागि सम्पूर्ण खर्च अरुण तेश्रोले गर्नेछ भने समन्वय चिचिला गाउँपालिकाले गर्ने छ ।

यसै विच चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा र चिचिला गाउँपालिका २ का अध्यक्ष दिनेश राईले तालिम दिईने सेन्टरको अनुगमन गरेका छन् । अध्ययक्ष शेर्पा र राईले मंगलबार तालिम दिईने सेन्टरको अनुगमन गर्नुभएको हो । अध्यक्षद्वयले प्रशिक्षार्थीहरुलाई अनुशासित र लगनशिल भएर तालिम लिन सुझाव दिएका छन् । यहाँ राम्रो तालिम लिए मात्र सवारी चालक अनुमति पत्र प्राप्त हुने बताउनुभयो ।

चिचिला गाउँपालिका अध्यक्ष शेर्पाले प्रशिक्षणमा कुनै कञ्जुसाई नगर्न तालिम सञ्चालकहरुलाई अनुरोध गर्नुभयो । राम्रो प्रशिक्षण गर्दागर्दै प्रशिक्षार्थीहरुले लापरवाहि गरे वा सिक्न नचाहे घर पठाईदिनेसम्मको स्वबिवेक प्रयोग गर्न सक्ने बताउनुभयो ।

 

सम्बन्धित समाचार