सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङमा तेस्रो कृषि महोत्सव कार्यक्रम सम्पन्न भएको छ । महाकुलुङ गाउँपालिका र पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङको आयोजना एवं जि फाउन्डेसन नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रदर्शनीमा विभिन्न ६ वटा विधाका उत्पादन तथा सामग्रीहरु प्रदर्शन गरिएको थियो । कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी, अल्लोबाट निर्मित वस्तुको प्रदर्शनी, हस्तकला प्रदर्शनी (बाँस, काठबाट निर्मित वस्तुहरु), अन्तर कृषि समूह तोस, भुमे, शिली, चण्डि नाच प्रतियोगिता, अन्तर आधारभूत (कक्षा ६–८) कृषि नाटक प्रतियोगिता र प्लास्टिकजन्य वस्तुबाट निर्मित वस्तुहरुको प्रदर्शनी गरिएको थियो । कृषि पेसालाई निर्वाहमुखी भन्दा पनि व्यावसायीक वनाउँदै लैजानका लागि कृषि प्रदर्शनी महोत्सव राखिएको पहाडी विकासका उपसमिति संयोजक पर्खी धन राइले वताउनुभयो ।
विभिन्न ६ वटा विधामा जम्मा ११६ जना सहभागीलाई पुरस्कार वितरण गरिएको छ । विजेतालाई नगद तथा विभिन्न प्रकारका कृषि औजार पुरस्कारको रुपमा प्रदान गरिएको छ । विशेषगरी कृषिप्रती आकर्षित हुनका लागि कृषकहरुलाई कृषि औजार पुरस्कार दिइएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।
कार्यक्रम पहाडी विकास तथा संरक्षण समूह नेपालको अध्यक्ष भलाकाजी कुलुङको अध्यक्षता र महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रवक्ता, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कृषकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया