काठमाण्डौ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५र६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताउनुभयो । यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उहाँको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय सङ्क्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ ।
‘सावधानी नअपनाए दैनिक २०–२२ हजारसम्म नयाँ सङ्क्रमित थपिन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । यस्तै, स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुने क्रम बढेकाले केही ठाउँमा स्वास्थ्यकर्मीकै अभाव समेत हुन थालेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढिरहे पनि पालिका, स्वास्थ्य कार्यालय र प्रशासनले परीक्षण बढाउन ध्यान दिएका छैनन् ।
माघ दोस्रो हप्तासम्म कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको विज्ञले बताएका छन् । अबको दुई हप्ता विशेष सावधानी अपनाउनु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ । कोरोना सङ्क्रमणको रोकथामका लागि मास्क अनिवार्य लगाउनु र भौतिक दूरी कायम गर्नु नै हो । यो सँगै बेला बेलामा साबुनपानीले मिचिमिची हात धुने र स्यानिटाइजर लगाइरहन डाक्टर मरासिनीको सुझाव छ ।
मास्क नलगाउनेहरुलाई अहिले देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टको समेत सङ्क्रमण हुन सक्ने खतरा रहेकाले मास्क अनिवार्य लगाउन उहाँको सुझाव छ ।
यसैबीच, कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढे पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत ठाउँमा भिड भने घटेको छैन । यसले जोखिम झनै बढाएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले मापदण्ड पालनामा कडाइ गर्न सकेका छैनन् ।
प्रतिक्रिया