काठमाडौं । प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण टापु देश टोंगामा उल्लेख्य क्षति भएको अनुमान गरिएको छ ।
गत आइतबार टोंगाको राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा पानी मुनि ज्वालामुखी विष्फोट भएको थियो । ज्वालामुखी विष्फोटका कारण बिजुली, इन्टरनेट र सञ्चार सम्पर्क विच्छेद भएको छ । आकाशमा धुवाँ र खरानीको मुस्लोका कारण स्याटलाइट फोनले समेत काम गरेको छैन । त्यसैले त्यहाँको क्षतिको पूर्ण विवरण आइनसकेको बीबीसीले जनाएको छ ।
क्षति र त्यहाँको पछिल्लो अवस्थाबारे बुझ्न न्युजिल्याण्ड र अष्ट्रेलियाले विशेष टोली टोंगामा पठाएका छन् । यी टोलीले गरेको निरीक्षणपछि टोंगामा उल्लेख्य क्षति पुगेको हुनसक्ने विवरण सार्वजनिक भइरहेका छन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले टोंगामा उल्लेख्य क्षति पुगेको बताएकी छन् ।
टोंगामा मानवीय क्षति भएको पुष्टि भने भएको छैन । तर बेलायती एक महिला एन्जेला ग्लोभर बेपत्ता भएको उनीका परिवारका सदस्य र साथीहरुले बताएका छन् । उनले टोंगाको राजधानी नुकुआलोफामा ट्याटु पार्लर सन्चालन गर्दै आएकी थिइन् ।
टोंगाको जनसंख्या करिब एक लाख ५ हजार रहेको बताइन्छ । त्यहाँ १७० वटा टापु छन् र ती सात लाख वर्ग किलोमिटरसम्म फैलिएका छन् ।
प्रतिक्रिया