क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुदोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै यस्तो कार्य ‘अस्वीकार्य’ भएको बताएका छन्। राजधानी ओटावास्थित संसद भवनमा बोल्दै उनले कोभिड नियमको बचाउ समेत गरे।
‘सडक अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य छन् र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेका छन्‚’ प्रधानमन्त्री त्रुदोले भने, ‘यसलाई अन्त्य गर्न हामीले सबथोक गर्नुपर्छ।’
उनले प्रदर्शनकारीहरूले देशको अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पुर्याएको आरोप लगाएका छन्। कोभिड संक्रमणका कारण एक साता आइसोलेसनमा बसेर उनफ सोमबारदेखि संसद् फर्किएका हुन्।
यता प्रहरीले पनि दुई सातादेखि राजधानी सहर ठप्प पारेका ट्रक चालकहरूलाई आपराधिक अभियोगमा पक्राउ गर्ने सक्ने चेतावनी दिएको छ। ओटावाका सडक अवरोध गर्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।
ट्रक चालकहरूले अनिवार्य रूपमा कोरोनाविरुद्ध खोप लगाउनुपर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले व्यापक भएको छ। ओटावामा संकट काल लगाइए पनि सोमवारदेखि प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्याएका छन्।
प्रतिक्रिया