माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । बैठक माघ २८ गते ९भोलि० बोलाइएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने सचिव ढकालले बताए ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन । गत पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौंमा आयोजित आठौं महाधिवेशन २३६ जना केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनित गर्न बाँकी छ ।

बिहीबार बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी छ । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

सम्बन्धित समाचार