नयाँ पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र : कमल थापा



विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता कमल थापाले आफ्नो पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् ।

नयाँ पार्टी गठनबारे छलफल गर्न प्रदेश १ आएका उनले शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् ।

‘अब मैले नयाँ ढंगबाट अघि बढ्नुपर्नेछ’, उनले भने, ‘फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुनेछ ।’

राजसंस्थालाई पार्टीको एजेण्डा बनाउने वा नबनाउने भन्ने विषयमा छलफल भइरहेको थापाले बताए । उनले अमेरिकी सहयोग परियोजना एमसीसी आफैंमा आपत्तिजनक नभएको भन्दै यसबारेमा उठेको आशङ्का र प्रश्नहरुको हल गर्नुपर्ने बताए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको पनि पत्रकारहरुसँग बताए ।

सम्बन्धित समाचार