एक महिनामा विदेशी मुद्राको सञ्चिती २ अर्ब घट्यो



काठमाडौं । सरकारले आयात निरुत्साहनका लागि अनेकौं प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति थप खिइँदै गएको देखिएको छ । चैत महिनामा मात्रै विदेशी मुद्राको सञ्चिति २ अर्ब ८ करोड रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा आइपुग्दा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ बराबरको देखिएको छ । अघिल्लो महिना फागुनसम्म ११ खर्ब ७० अर्ब रुपैयाँको विदेशी मुद्रा सञ्चिति थियो ।

विदेशी मुद्रा पछिल्लो समय लगातार घट्दो क्रममा छ । यद्यपि, घट्ने दरमा भने केही कमी आएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८।२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७।९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ ।

सम्बन्धित समाचार