आमनिर्वाचन : भोजपुरवासी भन्छन,पुरानाबाट काम भएन, अव बालेन, हर्क जस्ता उठनु पर्यो



सरकारले आगामी मङ्सिर ४ गतेका लागि एकैचरणमा गर्ने गरी सङ्घ तथा प्रदेशको निर्वाचन घोषणा गरेको छ ।

सोही मिति अनुसार निर्वाचन आयोगले समेत अहिले तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणासँगै क्रियाशिल राजनीतिक दलहरु समेत आफनो पार्टीलाई विजयी बनाउन छलफल तथा भागबण्डा गर्ने कार्यमा ब्यस्त हुन थालेका छन । जिल्ला तहका पुराना नेताहरु पनि पुन टिकट लिने दाउमा छन भने नयाँले पनि दावी गर्ने थालेका छन । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका स्थानीयहरुले भने बिगतमा निर्वाचित भएर पनि जिल्लाको बिकासका लागि प्रभावकारी काम नगर्नेहरु बिकल्प खोज्नु पर्ने प्रतिक्रिया दिएका छन ।

भोजपुरका भुपेन्द्र प्रधान उम्मेदावारका बिषयमा यसो भन्छन, “बालेन शाह, हर्क साम्पाङ्ग जस्ता उठे भोट हाल्न गईन्छ । नत्र यसपाली देखि नो भोटको लाइन तिर पो लागे है १ जसलाई जिताए पनि उस्तै रैछ ।” नयाँ आउनु पर्छ जितेर जानेले केही गरेनन, जितेर गएकाले नलडे हुन्छ, गुनासो ठुलो छ, युवा ज्योती पौडेलको भनाई छ ।

“पुरानो नयाँ भन्दा पनि देश र जनताको लागि बिगतमा कस्तो कर्म गर्दैथ्यो र अबको दिनमा कस्तो गर्छ जनताले बुझ्नु अनिबार्य छ । कसैले चाहेर पनि काम गर्न पाएनन होला, कसैले सिन्को पनि भाँचेनन होला, त्यसैले यस पटक जनताको चाहना र भावनालाई बुझ्न् खोज्ने उम्मेदवार चयन गरौ ।” स्थानीय कृष्णराज राईको धारणा छ ।

भोजपुरवासी भानुभक्त गुरागाई भन्छन, “विगतको मुल्याङ्कन गर्न जरुरी छ, जनताले जिताएर केन्द्रसम्म पुर्याएको तर अपेक्षित भन्दा कमजोर किसिमको विकासका कार्य गरेको हुदा पार्टीले टिकट नदिने यदि दिएमा तिनीहरुलाई जनताले आउँदो चुनावमा मतदान गरिएमा महागल्ती हुनेछ, त्यसैले संघीयता टिकाउनु छ भने पुरानालाई विदा गरौ ।” भोजपुर नगरपालिका १० का स्थानीय प्रकाश राई भन्छन, परिवर्तन ल्याउन समय लाग्छ स्पष्ट भिजन र जनताको जीवन स्तर उकास्ने खाल्को निती बनाउन सक्ने नेता छान्ने हो । “भोजपुरमा तेस्ता ब्यक्ति नदेखिए पनि कृषिमा बजेट ल्याउन सक्ने र संसदमा कुरा उठाएर कार्यान्वयन गर्ने प्रतिबद्धता गर्ने नेतालाई समर्थन गर्नु पर्छ ।” राईले भने ।

पुराना भन्दा पनि अव नयाँलाई अवसर दिनु पर्ने भोजपुरवासीको चाहना छ । पुराना नेतालाई नै पटक पटक टिकट दिदाँ नेता कार्यकर्तालाई समेत नैरास्यता छाएको प्रतिक्रिया भोजपुरवासीको छ । स्थानीय नारायण श्रेष्ठ पुरानाको पालो पुगेकाले अव नयाँलाई अवसर दिदा हुने बताउँछन । शिव घिमिरेले भने, अवको उम्मेदवार स्वतन्त्र, इमान्दार र उच्च बिचार भएको हुनु पर्छ ।

भोजपुर नगरपालिकाका बिन्द्र राईले भने, “एक दुईले मात्र नयाँ चुनेर के गर्नु १ बोतल उही रक्सी मात्र फेरिन्छ । नो भोटको प्रणाली ल्याउन पहल गरौं । स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा निर्वाचन होस् जसको लागि चुनावी जनचेतना त्यतिकै हुने वातावरण बनाउनु पर्छ । ”

 

सम्बन्धित समाचार