खाँदबारी । संखुवासभाको सिलीचोङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकास्तरीय उत्कृष्ट विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आधारभूत तह (कक्षा–८) उत्तीर्ण उत्कृष्ट छात्र–छात्रा, विषयगत उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको थियो।
उत्कृष्ट छात्रतर्फ सगरमाथा माध्यमिक विद्यालयका आयुस कुलुङ तथा उत्कृष्ट छात्रातर्फ रिदम कुलुङ सम्मानित भएका छन्। त्यसैगरी विषयगत उत्कृष्ट शिक्षकतर्फ नेपाली विषयका रामकुमार राई, अङ्ग्रेजी विषयकी मित्रा कुमारी राई, स्वास्थ्य तथा शारीरिक शिक्षाकी सुझना राई, गणित विषयका विजयकुमार दास तथा विज्ञान र कम्प्युटर विषयकी कला बस्नेत सम्मानित भएका छन्। सामाजिक मूल्य तथा मान्यता विषयतर्फ देवराज राई सम्मानित भएका छन् भने बाला माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय घोषित भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भुपाल राज मेवाहाङ ले शिक्षकहरू राष्ट्र निर्माणका आधारस्तम्भ भएको उल्लेख गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उनीहरूको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताए। उनले यस्ता सम्मान कार्यक्रमले शिक्षक तथा विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देविता कुलुङ, वडा अध्यक्षहरू देवेन्द्र वान्तावा, मोहन सम्सेर कुलुङ, अनिस कुलुङ, प्रमुख प्रशासकीय अधिकृत प्रविण राई लगायत जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
विद्यालय शिक्षाको गुणस्तर सुधार तथा शैक्षिक विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शिक्षा अधिकृत रमेश कार्कीले जानकारी दिए। उनले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक र विद्यालयबीच उत्कृष्ट कार्यसम्पादनका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया