पाथीभरा आधारभूत विद्यालयमा साब्लाबुङ पुस्तकालय स्थापना



संखुवासभा । मकालु गाउँपालिका–३ उवास्थित श्री पाथीभरा आधारभूत विद्यालयमा साब्लाबुङ पुस्तकालय स्थापना गरिएको छ। साब्लाबुङ पुस्तकालय अभियान नेपाल हङकङको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो।

साब्लाबुङ पुस्तकालय अभियानका संखुवासभा जिल्ला प्रतिनिधि मानदेव प्यासीको उपस्थितिमा आयोजित कार्यक्रममा पुस्तकालय स्थापना गरिएको विद्यालयले जनाएको छ। पुस्तकालयमा ७५ हजार रुपैयाँ बराबरको ४२० थान पुस्तक राखिएको बताईएको छ । पुस्तकालय स्थापना भएपछि विद्यार्थी तथा अभिभावकहरूको पठन संस्कृतिको विकास हुनुका साथै सिकाइ प्रक्रियामा समेत सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन राईले पुस्तकालयले विद्यार्थीहरूको ज्ञान तथा सीप अभिवृद्धिमा सहयोग पुर्‍याउने र समाज परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

सोही अवसरमा साहित्य तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। साब्लाबुङ पुस्तकालय अभियानका प्रमुख साहित्यकार राजकुमार राई तथा विद्यालयका पूर्व प्रधानाध्यापक एवं स्रष्टा मानदेव प्यासीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक भुवनसिंह राईले जानकारी दिनुभयो।

कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक कालुमान राईले विद्यालयमा पुस्तकालय स्थापना गरी शैक्षिक विकासमा योगदान पुर्‍याएकोमा साब्लाबुङ परिवारप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। विद्यालयमा पुस्तकालय स्थापना भएसँगै विद्यार्थीहरूमा अध्ययन तथा अनुसन्धानप्रति रुचि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार