असोज ६ गते ‘भीषण सांगीतिक साँझ’ हुँदै



काठमाडौं । गायक भीषण मुकारुङको एकल सांगीतिक साँझ हुने भएको छ । असोज ६ गते बिहीबार भोजपुरे सेवा समाज, काठमाडौंले उक्त कार्यक्रम गर्ने भएको हो ।

सांस्कृतिक संस्थान, जमलमा हुने सांगीतिक साँझ सामाजिक सेवाभावका लागि आयोजना गर्न लागिएको भोजपुरे सेवा समाज, काठमाडौंका अध्यक्ष पासाङदोर्ची शेर्पाले बताए ।

नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ ३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको कार्यक्रमका संयोजक दाँवाली मिलन क्लब, काठमाडौंका अध्यक्ष रोशन श्रेष्ठले जानकारी गराए ।

‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो । यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ गायक मुकारूङले सुनाए ।

मुकारुङ भोजपुरको ट्याम्के मैयुङ ३ अन्नपूर्णका हुन् । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन् । उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायत अधिकांश गीत चर्चित छन् ।

उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा सबैलाई खुल्ला निमन्त्रणा गरिएको संयोजक श्रेष्ठले जानकारी गराए ।

सम्बन्धित समाचार