गुरुङ (तमू) समाज संखुवासभा हङकङले आयोजना गर्न लागेको तमू ल्होछार शुभकामना आदानप्रदान कार्यक्रमका लागि कुसुम गुरुङ र परेश राई हङकङ पुगेका छन् । कुसुम र परेश ११ जनवरी २०२५ मा हङकङको जोर्डनस्थित ब्लु ओशन रेष्टुरेन्टमा अयोजना हुने कार्यक्रममा साङ्गीतिक प्रस्तुतिका लागि हङकङ पुगेका हुन् ।
गुरुङ (तमू) समाज संखुवासभा हङकङका उपाध्यक्ष श्याम गुरुङले कार्यक्रमलाई भव्य बनाउन नेपालबाट कलाकारद्वयलाई निमन्त्रणा गरिएको बताउनुभयो । उहाँले ल्होछार शुभकामना आदानप्रदान कार्यक्रम भव्य हुने अपेक्षा गर्दै सबैलाई कार्यक्रममा सहभागिताका लागि आग्रहसमेत गर्नुभयो । संखुवासभा समाज, हङकङका अध्यक्ष लिला गुरुङले समाजको औपचारिक निमन्त्रणामा पहिलोपटक नेपालबाट कलाकारलाई निमन्त्रणा गरिएको स्मरण गर्दै भन्नुभयो, “यो सुरुवात हो । कलाकार निमन्त्रणा गर्ने ढोका खुलेको छ ।”
कलाकारद्वय कुसुम गुरुङ र परेश राईले आफूहरूलाई हङकङमा कार्यक्रमका लागि निमन्त्रणा गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई भव्य र सफल बनाउन सक्दो प्रयास गर्ने बताए । कलाकारद्वय गुरुङ र राईलाई रिसिभ गर्न विमानस्थलमा गुरुङ (तमू) समाज संखुवासभा हङकङका अध्यक्ष चन्द्रबहादुर गुरुङ, उपाध्यक्ष श्याम गुरुङ, ज्याप स्टुडियो हङकङका सञ्चालक तथा सञ्चारकर्मी बिक्रम गुरुङ, संखुवासभा समाज, हङकङका वरिष्ठ उपाध्यक्ष जयप्रकाश गुरुङ(जेपी), पञ्चा गुरुङलगायत पुगेका थिए ।
संखुवासभा कलाकार चौतारीका कोषाध्यक्ष कुसुम गुरुङ र सदस्य परेश राईलाई त्रिभुवन विमानस्थलमा चाहिँ कलाकार चौतारीका सचिव डिजे मेवाहाङ र सदस्य तृतीया गुरुङ तथा संखुवासभा तमू समाज सेवा समिति उपाध्यक्ष गंगा गुरुङले बिदाई गरेका थिए ।
प्रतिक्रिया