सांस्कृतिक झाँकीको बीचमा साहित्य-कला महोत्सव सुरु



काठमाडौं । राजधानीमा आजबाट नेपाल-दक्षिण कोरिया साहित्य, संस्कृति र कला महोत्सव सुरु भएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा स्वास्थ्य मन्त्री गगन थापाले महोत्सवको उद्घाटन गरे । थापाले यो महोत्सवले दुई देशबीचको कला, साहित्य र संस्कृतिको आदानप्रदानमा कोशेढुंगाको काम गर्ने बताए ।

उनले नेपाल र कोरियाका कलाकारहरुले बनाएका चित्रकला र मूर्तिकलाको अवलोकन समेत गरेका थिए । नेपाली लेखक संघ र युरासिया कल्चर फोरम, कोरियाको संयुक्त आयोजनामा भएको महोत्सवमा दुई देशका सयभन्दा बढी कलाकारका कलाहरु प्रदर्शनीमा राखिएका छन् ।

महोत्सवको पहिलो दिन नेपालका विविध जातजातिको सांस्कृतिक नृत्य र झाँकी देखाइयो । यसका साथै दुवै देशका तर्फबाट भाषा साहित्य, संस्कृति, कला र समाजशास्त्रसम्बन्धी चार(चार वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

तीनदिने महोत्सवको दोस्रो दिन बिहीबार दुवै मुलुकका २५ भन्दा बढी कविहरुले कविता वाचन गर्नेछन् भने केही नेपाली गजलकारले गजल समेत प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै, अन्तिम दिन नेपाली र कोरियाली चित्रकार तथा मूर्तिकारका चित्रकला, मूर्तिकलाको प्रदर्शनी तथा कलाबारे छलफल र अन्तर्क्रिया गरिनेछ ।

महोत्सवमा युरासिया कोरियाका तर्फबाट ६० भन्दा बढी साहित्यकार, कलाकर्मी र संस्कृतिकर्मीको सहभागिता छ ।

सम्बन्धित समाचार