प्याज लुकाऊदै ब्यापारी भारत सरकारले प्याज निर्यातमा लगाए प्रतिबन्ध



काठमाडौं। भारतले निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यापारीले प्याज लुकाउन थालेका छन्। भारत सरकारले आइतबारदेखि अर्को आदेश नहुञ्जेलसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार कालिमाटी बजारमा गरेको अनुगमनमा व्यापारीले मौकाको फाइदा उठाएर प्याज लुकाउन थालेको भेटिएको छ। विभागका अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार कालिमाटीस्थित अर्याल आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याज नभएको ढाटेको फेला पारिएको छ।

अनुगमन टोलीले उक्त सप्लायर्सको गोदाममा छापा मारेपछि दुई सय बोरा प्याज भण्डारण गरी राखिएको फेला परेको थियो।

श्रेष्ठले भने, ‘सुरुमा गोदाम देखाउनै मानेन, गोदाममै छापा मारेपछि ठूलो परिमाणमा प्याजको बोरा भेटियो। भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले धमाधम प्याज लुकाउन थालेका छन्।’

प्याज लुकाएको अभियोगमा उक्त सप्लायर्सलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको थियो। श्रेष्ठका अनुसार व्यापारीले फाइदा उठाउँदै एक दिनमै प्रतिकिलो प्याजमा ३० रुपैयाँ मूल्य थप गरेको अनुगमनका क्रममा फेला पारिएको छ।

सम्बन्धित समाचार