कुन उमेरका मानिस कति घण्टा सुत्ने ?



विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता फरक–फरक हुने गर्छ । हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं । तर पर्याप्त निद्रा भनको कति हो त रु अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले हालै गरेको एक अनुसन्धानले भनेको छ – त्यो तपाईंको उमेरमा भर पर्छ ।

सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ । फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ । तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ ।

नवजात (०–३ महिना) – भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन ।

शिशु (४–११ महिना) – यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो । कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन।

वामे सर्नेहरु (१–२ बर्ष)– यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ । यिनीहरुका लागि स्वीकार्य ‌९ देखि १६ घण्टाको निद्रा हो ।

विद्यालय जानु अघिका (३–५ बर्ष) – विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन् । तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन ।

स्कुले उमेरका (६–१३ बर्ष)– अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ । ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन ।

किशोरकिशोरी (१४–१७ वर्ष)– किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो । तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ ।

युवा (१८–२५ बर्ष)– युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो । तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन ।

वयस्क (२६–६४ बर्ष)– यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ ।

बृद्ध (६५ बर्ष भन्दा माथि)– यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७/८ घण्टाको निद्रा स्वस्थ मानिएको छ । तर यिनीहरुले ५ घण्टा भन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन ।

स्वस्थ निद्राको बानी
फाउण्डेशनका निद्रा विज्ञहरुले निद्रा सुधार्नका लागि केहि सुझावहरु पनि प्रकाशित गरेका छन् । उनीहरुका अनुसार निद्रालाई सबैले पहिलो प्राथमिकतामा राख्‍नु पर्छ ।

तिनीहरुले दिएका केहि सुझावहरु यस्ता छन्–
सुत्ने एउटा निश्चित समय बनाउनु पर्छ र त्यस्लाई सप्ताहान्तको छुट्टीको बेलामा पनि पालना गर्नु पर्छ ।
सुत्नु अघि मनमष्तिष्क शान्त हुने अभ्यास गर्नु पर्छ ।
दैनिक कसरत गर्नु पर्छ ।
सुत्ने कोठाको तापक्रम, त्यहां बाहिरबाट आउने आवाज र प्रकाशलाई आफू अनुकुलको राख्‍नु पर्छ ।
आरामदायी विछ्यौना र तकियाको प्रयोग गर्नुपर्छ ।
मदिरा र क्याफेन जस्ता निद्रा विगार्ने पदार्थहरुको सेवन गर्नु हुंदैन ।
सुत्नुअघि विद्यतिय उपकरणहरु बन्द गर्नु पर्छ ।

सम्बन्धित समाचार