हिउँ खेल्न गएका बारपाकका २ बालक ५ दिनदेखि बेपत्ता



गोरखा । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना बालक बेपत्ता भएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् ।

हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरु लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता सम्पर्कमा छैनन् । छोरा हराएको भन्दै आफन्तले २३ गते बारपाक प्रहरी चौकीमा मौखिक जानकारी गराएका थिए । खोजी गरिदिन भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत बुझाएका छन् ।

जानकारी पाएपश्चात उनीहरुको खोजी कार्य तीव्र पारिएको डिएसपी प्रकाश दाहालले बताए । ‘हराएकामध्ये करन भन्नेले मोबाइल लगेको रहेछ, तर फोन सम्पर्क हुँदैन, हामीले मोबाइल ट्रयाकिङको प्रयास गरिरहेका छौं,’ उनले भने ।

सम्बन्धित समाचार