यसरी थाहा पाउनुहोस्, बच्चाको मिर्गौला रोग



डा. विवेक तोदी
८ चैत, मिर्गौला रोग भन्ने बित्तिकै आमरुपमा युवा तथा वृद्धवृद्धालाई मात्र लाग्ने रोग भनेर बुझ्ने गरिन्छ। तर, कलिला बालबालिकालाई पनि मिर्गौलाका धेरै रोगले सताएको हुन्छ। कलिलै उमेरमा मिर्गौला फेल भएर कति बालबालिकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ। सामान्य समस्यालाई समयमा नै उपचार नगर्दा मिर्गौलाका जटिल समस्या भोग्ने बालबालिका धेरै छन् ।

मिर्गौलाको रोग भनेको ‘साइलेन्ट’ रोग हो। यसका लक्षण हत्तपत्त देखिँदैन। तर, जब देखिन्छ त्यो बेला ढिला भइसकेको हुन सक्छ। बालबालिकाहरुमा पटक–पटक पिसाबको संक्रमण देखिन्छ भने त्यो मिर्गौलाको समस्या हो भनेर बुझ्नुपर्छ। त्यसको समयमै उचित उपचार गराउनुपर्ने हुन्छ। बच्चामा पिसाबको संक्रमण विभिन्न कारण ले हुन सक्छ। सामान्यतया बालिकाको तुलनामा बालकलाई पिसाबको संक्रमण कम हुन्छ। तर, बालकमा पिसाबको संक्रमण देखियो भने त्यसले मिर्गौलामा समस्या निम्त्याएको हुन सक्छ।

बालकहरुलाई मिर्गौलाको बनावटमा फरक, पिसाब थैली, पिसाब नलीमा समस्या, पिसाब फर्ने बाटोका छाला पूरा नफर्किंदा, कब्जियत तथा लामो समयसम्म पिसाब रोक्ने बानीका कारण संक्रमण देखिन्छ। यस्ता समस्या देखिए तुरुन्तै उपचारमा जानुपर्छ।

यस्तै, बालिकाहरुमा भने मुत्रद्वार र गुद्वारको सरसफाइ नहुँदा संक्रमण हुने गर्छ। बालिकाहरुलाई अभिभावकले पानीले दिसा सफा गर्दा पछाडिबाट अगाडि हात ल्याएर धुनु हुँदैन। यसो गर्दा पिसाबको संक्रमण हुने खतरा रहन्छ। यसका साथै मिर्गौलाको बनावट, पिसाब नली, पिसाब थैलीको समस्याले पनि बालिकाहरुमा संक्रमण देखिन्छ।

बालबालिकामा पिसाबको संक्रमण पटक–पटक देखिए पनि एन्टिबायोटिक वा अन्य सामान्य उपचार गरेर क्षणिक रुपमा निको पार्ने गरिन्छ। तर, उक्त संक्रमण किन दोहोरिरहेको छ, भनेर थप जाँच गरिँदैन। फलस्वरुप कालान्तरमा त्यसले मिर्गौलामा गम्भीर असर गर्ने खतरा रहन्छ। यस्ता समस्यालाई सामान्य ठानेर चुप लागेर बस्नु भनेको हाम्रा नानीबाबुहरुलाई मिर्गौला रोगको गम्भीर अवस्थामा धकेल्नु हो।

बच्चाहरुमा देखिने अर्को समस्या ‘नेफ्रोटिक सिन्ड्रोम’ हो। पिसाबबाट प्रोटिन निस्कने समस्यालाई नेफ्रोटिक सिन्ड्रोम भनिन्छ। धेरैजसोमा यो समस्या वंशाणुगत हुन्छ। पिसाबमा प्रोटिन जाने समस्या सामान्यदेखि जटिलसम्म हुन्छ। केहीमा सामान्य औषधि चलाउँदा निको हुने खालको हुन्छ भने केहीमा पटक–पटक समस्या दोहोरिरहने, औषधिले पनि काम नगर्ने हुन सक्छ। औषधिले काम गरेको छैन भने त्यस्ता बच्चालाई मिर्गौलाको बायोप्सी गरी थप परीक्षणमार्फत उपचार प्रक्रिया अगाडि बढाइन्छ। किनभने समयमा नै प्रोटिन जाने समस्या रोकिएन भने त्यसले भित्रभित्रै मिर्गौला पूरै बिगारिसकेको हुन्छ।

बच्चाको पिसाबबाट प्रोटिन गएको छ भने उक्त बच्चा विस्तारै सुन्निँदै गइरहेको हुन्छ। पिसाबमा धेरै फिँज आउने, पिसाब कम लाग्ने जस्ता लक्षण देखिन्छन्। यस्तो समस्या आउनेबित्तिकै अभिभावकले बालबालिकालाई अस्पताल ल्याउनुपर्छ। यो समस्यामा धेरै बालबालिकालाई औषधिले नै काम गर्छ। तर, औषधि खाएको केही समयपछि पुनः दोहोरिन्छ भने मिर्गौलाको अवस्था हेरेर थप उपचार गर्नुपर्ने हुन्छ।

बालबालिकामा कहिलेकाहीँ पिसाबमा रगत देखिने समस्या पनि आउँछ। यस्तो समस्या आएमा सोझै विशेषज्ञ डाक्टरलाई देखाउनुपर्ने हुन्छ। पिसाबमा रगत देखिने धेरै कारण हुन सक्छन्। तीमध्ये एउटा ‘ग्लोमेरुलनेफ्राइटिस’ हो। यो भनेको नै पिसाबमा रगत जाने समस्या हो। यस्तो कहिलेकाहीँ सामान्य संक्रमणबाट पनि भएको हुन सक्छ भने केहीमा मिर्गौला तथा पिसाब नलीको ठूलो समस्याका कारण हुन सक्छ। संक्रमण बाहेक रोगप्रतिरोधात्मक क्षमतामा असर हुँदा पनि यो समस्याले बालबालिकालाई पिरोल्छ।

बालबालिकाको घाँटी तथा छालामा संक्रमण देखिएको छ भने पनि त्यसको कारणले मिर्गौलामा असर पार्ने हुन सक्छ। संक्रमण भएको दुई–तीन हप्तामा मिर्गौलामा असर पुग्ने यस्तो समस्यालाई पोस्ट स्टेप्टोकल ग्लुमेरुलनेफ्राइटिस’ भनिन्छ। यो समस्यामा बच्चाको पिसाबबाट प्रोटिन निस्कने, रगत आउने, रक्तचाप बढ्ने, पिसाब कम हुनेजस्ता लक्षण देखिन्छ।

उमेर पुगिसकेका बालबालिकाहरुमा ओछ्यानमा पिसाब गर्ने बानी छ भने त्यो पनि मिर्गौलाको समस्या हुन सक्छ। सामान्यतया बालबालिका तीन–चार वर्षको हुँदा ओछ्यानमा पिसाब फेर्ने समस्या रोकिने गर्छ। तर कुनै बच्चा ८–१० वर्षसम्म पनि ओछ्यानमा पिसाब गर्छ भने त्यो समस्या हो। यसलाई ‘एनोरोसिस’ भनिन्छ। आम मानिसमा उमेर बढ्दै गएपछि यो समस्या ठिक हुन्छ भन्ने सोच छ। तर, नियन्त्रण भएन भने त्यसले भित्र मिर्गौला बिगार्ने खतरा हुन्छ भन्ने धेरैलाई पत्तो छैन। यस्तो समस्या सामान्य संक्रमण, पिसाब थैलीमा समस्या, कब्जियतजस्ता कारणले निम्तिएको हुन सक्छ। पहिला त्यसलाई पहिचान गरेर उपचार गर्नुपर्ने हुन्छ। समयमा उपचार गरिएन भने यो समस्या भएका धेरै बच्चाको पछि मिर्गौला फेल हुने खतरा रहन्छ। साथै बच्चालाई मानसिक समस्या पनि थपिन सक्छ।

बालबालिकाहरुमा जन्मजात मिर्गौलाको समस्या पनि आउने हुन्छ। कतिपयमा जन्मदा नै मिर्गौला अन्यत्र स्थानमा हुने, एउटा मात्र हुने, नली सुन्निने, पिसाब थैलीमा समस्या हुने पनि हुन्छ। केही बालबालिकामा भने जन्मेको केही समयपछि पत्थरी हुने र मिर्गौला बिग्रने समस्या पनि देखिएको छ। यस्ता समस्याको समयमै पहिचान गरी उपचारमा जानुपर्ने हुन्छ। बालबालिकाको मिर्गौलामा हुने सबै रोग तथा समस्याको नेपालमा उपचार सम्भव छ। तर, अझै पनि बालबालिकाको मिर्गौला फेल भयो भने बालबालिकालाई डायलाइसिस गर्ने सानो आकारको डाइलाइसिस उपकरण भने छैन। यसका लागि पहल भइरहेको छ। यस्तै, आइसियूमा ‘स्लो डाइलाइसिस’ को व्यवस्था सुरु गर्नेबारे चर्चा भएको छ। बालबालिकाको मृत्युदरलाई कम गर्न आइसियूमा स्लो डाइलासिसको व्यवस्था विकशित देशमा सुरु भइसकेको छ। यसलाई चिकित्सकीय भाषामा ‘कन्टिनियस रिनल रिप्लेसमेन्ट थेरापी’ (सिआरटी) भनिन्छ। यो प्रबन्ध नेपालमा पनि गर्न सके धेरै बालकालिको ज्यान जोगाउन सकिने थियो।

सम्बन्धित समाचार