रुप फेर्दै नारदमणी थुलुङ राजमार्ग



हालै कालोपत्रे गरिएको सडक । तस्विरः देशको न्यूज

भोजपुर । सडक जोडिएको एक दशकपछि भोजपुरमा पहिलोपल्ट लेगुवा–भोजपुर ९६६किमि० नारदमणि थुलुङ राजमार्गको कालोपत्रे सुरु भएको छ । चैत्र १२ देखि छिमेकी जिल्ला धनकुटासँगको सिमाना लेगुवादेखि भोजपुरतर्फ काम सुरु गरेको हो । कालोपत्रेका लागि बेसको काम फागुन पहिलोहप्तादेखि नै थालेको थियो । पहिलो चरणमा १० किमि दूरीभित्र काम हुँदैछ । पूर्वी जरायोटारको सिमटारदेखी लेगुवातर्फ एक किलोमिटरसम्म प्राइम लगाइसकेको छ । मौसमले साथ दिएको खण्डमा वैशाखको मध्यसम्ममा सक्ने लक्ष्यका साथ काम अगाडि बढाएको इन्जिनियर बुद्धि न्यौपानेले बताए ।

एक वर्षअघि रोडा र बालुवा बिछ्याएर उठाएको बेसमा कम्प्रेसर मेसिनले धूलो उडाएर विटुमिन डिस्ट्रिब्यटरले प्राइम लगाएर सुकाएपछि अलकत्रा लगाइन्छ । त्यसमाथि १४ एमएम बाक्लो रोडा हालेर रोलरले पेलिन्छ । एक महिनापश्चात् थप अर्को लेयर अलकत्रा हालेर १० एमएम बाक्लो रोडा हालेर पुनस् रोलिङ्ग गरेपछि पूर्णरुपमा कालोपत्रे हुने उनले बताए । यसका लागि एक महिना समय लाग्छ । साढे ६ किमि चौडामा कालोपत्रे गरिनेछ । जसलाई इन्टरमिडियट लेन भनिन्छ । पानी पर्ने सिजन सुरु भइरहेकाले काममा बाधा पुग्ने देखिएको छ । १५ डिग्री सेल्सियसभन्दा कमको तापक्रममा कालोपत्रे गर्न नमिल्ने इन्जिनियरले बताए । मौसमले साथ दिएको खण्डमा कालोपत्रेलाई चरणबद्ध अगाडि बढाइने योजना छ । जेष्ठ मसान्तसम्ममा २२ किमिमा कालोपत्रे गरिसक्ने योजना बनाएको बताए ।

राजमार्गको कालोपत्रेसँगै जिल्लाभित्र पहिलोचोटि सडकको कालोपत्रे हुँदैगर्दा दसकौंदेखि भोजपुरे जनताको स्थायी यातायातसेवा पाउने आशा बल्ल साकार हुँदैछ । यहाँ थुप्रै सडकहरु भए पनि अहिलेसम्म कालोपत्रे भएका छैनन् । सबै कच्ची, साँघुरा, घुमाउरा छन् । पूर्वी जरायोटारदेखि पश्चिमी चखेवासम्म १ सय ८ किमि राजमार्ग छ । २ सय किमि जिल्ला तथा ग्रामीण सडक छन् । सानातिना ट्रयाकसहित जिल्लाभर करिब ५ सय किमि सडक खनिएको छ । एउटा टोलमा कम्तीमा २ देखि बढीमा ६ वटासम्म सडक जोडिएका छन् ।

यो राजमार्ग बाहिरी जिल्लासँग जोड्ने एकमात्र सडक पनि हो । ०६४ सालयता मध्यपहाडी आयोजनाले धनकुटा हुँदै सदरमुकाममा जोडेको थियो । एसियाली विकास बैंकले १ अर्ब ८९ करोड २९ लाख ६८ हजार ८ सय रुपैयाँमा सहयोग गरेपछि राजमार्गका रुपमा कालोपत्रे थालिएको थियो । चिनियाँ कम्पनी तेन्जिङ्ग–रमन र कन्काई कन्स्ट्रसनले संयुक्त रुपमा कालोपत्रेका लागि ९९ करोड ४४ लाख ६८ हजार ५ सय रुपैयाँमा ठेक्का लिएका थिए । सन् २०१८ को जनवरीमा सक्ने गरी २०१५ को डिसेम्बरदेखि काम थालेका थिए ।

कालोपत्रेका लागि स्तरोन्नती लगभग सकिन लागेको र कालोपत्रे मात्र बाँकी रहेकाले तोकिएको समयभित्रमा सम्पन्न गर्ने गरी काम बढाएको आयोजनाले बताएको छ । आयोजनाले भोजपुर(श्यामशिला २० किमिबाहेक अन्य खण्डमा बेस उठाइसकेको छ । सडक फराकिलो पार्ने, नाली, वाल, कल्भर्ट, कजवे लगायतका निर्माण लगभग सकेको छ । भोजपुर–श्यामशिला खण्डमा धमाधम कटिङ्ग गरेर बेस तयारका लागि काम गरिरहेको छ । कटिङ र स्ट्रक्चरका कामदेखि कालोपत्रेका लागि चारवटा पानी ट्यांकर, ७ वटा स्काईभेटर, १७ वटा ट्रिपर र ट्रक, २ वटा ग्रेडर, २ वटा रोलर, कम्प्रेसर मेसिन र विटुमिन डिस्ट्रिव्युटर एक, एक वटा मेसिन दैनिक सञ्चालनमा ल्याएको आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार