चुनावमा भाग लिन मधेसी मोर्चा तयार, सीमांकन ‘होल्ड’ गरेर धारा २७४ संशोधन गरिने



१८ चैत, काठमाडौं । सरकार र मधेसी मोर्चाबीच सीमांकन हेरफेरलाई थाती राख्दै अन्य पाँच विषयमा संशोधन अघि बढाउने ‘भद्र सहमति’ भएको छ । यो सहमतिअनुसार अब मधेसी मोर्चा पनि निर्वाचनमा भाग लिन तयार भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको सत्तापक्ष र मधेसी मोर्चावीचको छलफलले सकारात्मक निश्कर्ष निकालेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

सहमति अनुसार मधेसी मोर्चा निर्वाचनमा भाग लिन सैद्धान्तिक रुपमा सहमत भएको छ भने सरकारले केही दिनमै संविधानको धारा २७४ संशोधन गर्ने गरी अर्को संविधान संशोधन प्रस्ताव अघि बढाउने भएको छ । नयाँ संशोधन प्रस्तावमा स्थानीय जनप्रतिनिधिलाई राष्ट्रपति/उपराष्ट्रपति छनौटमा मतदानको अधिकार कटौती गर्ने प्रस्तावसमेत सरकारले अघि बढाउने भएको छ ।

मोर्चा र सत्तापक्षवीच भएको असहमति अनुसार सीमांकन हेरफेरको प्रस्ताव हाललाई थाती राखेर अन्य विषयमा संविधान संशोधन गरी चुनावमा जान मोर्चाका नेताहरुले सैद्धान्तिक सहमति जनाएका छन् ।

शुक्रबारको बैठकमा भएको सहमतिबारे जानकारी दिँदै माओवादी नेता पुनले अनलाइनखबअरसँग भने, ‘सीमांकनबाहेकका विषयमा संविधान संशोधन गर्ने र मधेसी मोर्चा पनि निर्वाचनमा जाने विषयमा सैद्धान्तिक सहमति भयो । यसले गर्दा अब संविधान पनि संशोधन हुने भयो र मोर्चा पनि चुनावमा आउने निश्चित भयो ।’ शुक्रबारको सहमतिले अब निर्वाचनको वातावरण बनेको पुनले बताए ।

मोर्चासँग सत्तापक्षको सैद्धान्तिक सहमति भए पनि यसलाई ठोस रुप दिनका लागि प्रधानमन्त्रीले एमाले लगायत विभिन्न दलका शीर्षनेतासँग छलफल गर्ने समझदारी बनेको पुनको भनाइ छ । ‘संविधान संशोधन र चुनावमा जानेबारे बनेको सैद्धान्तिक सहमतिलाई अन्तिम रुप दिन प्रधानमन्त्रीले शीर्ष तहमा छलफल गरेर टुंगो लगाउने समझदारी भएको छ ।’

सम्बन्धित समाचार