खाँदबारी बजारमा भुस्या कुकुरको संख्या बढ्दो, स्थानीय आतंकित



जिल्ला अस्पतालको प्राङ्गणमा भुस्या कुकुरहरु । तस्विरः गंगा विष्ट

सङ्खुवासभा । खाँदबारी बजार क्षेत्रमा भुस्या कुकुरको संख्या बढेको छ । कुकुरको संख्या बढेसँगै बाटो हिड्नेलाई टोक्न खोजेपछि आतंक पनि बढेको छ ।

खाँदबारीको पोखरी बजार, चाँदनी चोक, नयाँबजार लगायतको क्षेत्रमा भुस्या कुकुरको संख्या उल्लेख्य छ । भुस्या कुकुरको तथ्याङ्क यकिन नभएपनि मानेभञ्ज्याङ र खाँदबारी बजारमा मात्रै एक सय बढि भुस्या कुकुर रहेको अनुमान लगाईएको छ । बजारमा मानिसको चाप कम भएपछि कुकुर जम्मा हुने र पैदल यात्रु र सवारी आवागमनलाई अवरोध गर्ने गरेको खाँदबारी बजारका स्थानीय अरुणकुमार गुरुङले बताउनुभयो । पैदल हिड्नेहरुलाई थुप्रै संख्यामा रहेको कुकुरहरुले झम्टन खोज्ने हुँदा जोगिन मुस्किल परेको गुरुङको भनाई छ । ‘आफ्नै सुरमा हिँडिरहेको मान्छेलाई एक्कसी टोक्न खोज्छन्’, गुरुङले भन्नुभयो, ‘त्यति धेरैले टोके मान्छेको हालत के होला ?’

भुस्या कुकुरहरुकै कारण सवारी साधनलाई पनि समस्या परेको स्थानीय किरणकुमार शाक्यले बताउनुभयो । गुडिरहेको मोटरसाईकल माथी झम्टन खोज्दा सडक दुर्घटनाको सम्भावना बढेको उहाँको भनाई छ । विषेश गरि साँझ, राती र विहानको समयमा सडकमा कुकुरको संख्या अधिक हुँने हुँदा विभिन्न प्रकारका दुर्घटनाहरु हुनसक्ने बताउनुभयो । यता जिल्ला अस्पताल परिषरमा पनि भुस्याको आतंक उतिकै रहेको एक स्वास्थ्यकर्मीले जानकारी दिए । साँझ परेपछि भिडभाड कम हुन्छ, त्यसपछि कुकुरहरु अस्पताल कम्पाउण्ड प्रवेस गर्छन्, स्वास्थ्यकर्मीको भनाई छ । कतिपय कुकुरहरु लखेट्न खोज्दा आफै माथी आईलाग्न खोज्ने समेत बताईएको छ ।

बजार क्षेत्र भित्र थुप्रै संख्यामा रहेको भुस्या कुकुरहरु नियन्त्रण नगरे जुनसुकै बेला जस्तो पनि दुर्घटना हुन सक्ने स्थानीयले बताएका छन् । भुस्या कुकुरहरु बेलैमा मास्नु पर्छ, जस्को लागि सम्बन्धीत निकायले तत्काल कदम चाल्नु पर्ने स्थानीय कृष्णभगत प्रधानले बताउनुभयो ।

सम्बन्धित समाचार