एचआइभी भन्दा बिकराल बन्दै डिप्रेसन रोग




सङ्खुवासभा, चैत्र २५ गते । विश्व स्वास्थ्य दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले आयोजना गरेको अन्तरकृया कार्यक्रमका सहभागिहरुले डिप्रेसन अर्थात उदासीनता रोग एचआइभी भन्दा पनि विकराल बन्दै गएको बताएका छन् । उदासीनता रोगः खुलेर कुरा गरौँ भन्ने नाराका साथ शुक्रबार सम्पन्न भएको अन्तरकृया कार्यक्रममा सहभागिहरुले यस्तो बताईएका हुन् ।

जिल्ला अस्पताल खाँदबारीमा कार्यरत डाक्टर युवराज बस्नेतले डिप्रेसनको बारेमा प्रोजेक्टर मार्फत जानकारी गराएपछि डिप्रेसनको बारेमा छलफल भएको थियो । डाक्टर बस्नेतका अनुसार डिप्रेसनका कारण हाल विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले ज्यान गुमाईरहेको छ भने हरेक तीन जना मध्ये एक जनासँग डिप्रेसन रोग छ ।

सङ्खुवासभामा पनि डिप्रेसनको बिरामीको संख्या अधिक रहेको समाजशास्त्री डाक्टर मात्रिका तिम्सीनाले बताउनुभयो । डिप्रेसनकै कारण अकालमा ज्यान गुमाउनेको संख्या पनि ह्वात्तै बढेको उहाँको दावी छ । डाक्टर तिम्सीनाको अध्ययनका अनुसार आर्थिक बर्ष ०७१÷७२ मा डिप्रेसनको कारण ८ जनाले ज्यान गुमाएका थिए भने ०७२÷७३ मा २१ जनाले ज्यान गुमाएका थिए । पछिल्लो समय मानिसहरुमा डिप्रेसन रोगकै कारण आत्महत्या गर्नेको संख्या बढ्दै गएको उहाँको दावी थियो ।

विरामी भएर अस्पताल आएकाहरु मध्येबाट चार महिना भित्रमा नै २० जना डिप्रेसनको बिरामी पत्ता लागिसकेको र उपचार सुरु गरिसकेको डाक्टर युवराज बस्नेतको भनाई छ । कतिपय मानिसहरु आफु डिप्रेसनको विरामी रहेको थाहा नपाएको कारण कति संख्यामा सो समस्या छ भन्ने यकिन गर्न नसकिएको उहाँको भनाई छ ।

पछिल्लो समय डिप्रेसनको रोगिको संख्या बढ्दै गएकोले जिल्ला अस्पताल सङ्खुवासभाले छुट्टै मनोचिकित्सकको ब्यावस्था गर्नु पर्ने सहभागिहरुले सुझाव दिएका छन् । जिल्ला डिप्रेसनको बिरामी बढेपछि अस्पतालको आन्तरिक जनशक्तिबाट भएपनि विशेष तालिम दिएर परामर्शदाता उत्पादन गर्नु पर्ने जिल्ला अस्पतालका निमित्त प्रमुख राम सिटौलाले बताउनुभयो । अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष गोपाल घिमिरेले दरबन्दी थपेर भएपनि मनोचिकित्सकको ब्यावस्था गर्न लागि पर्ने बताउनुभयो ।

सम्बन्धित समाचार