आकांक्षी बढी हुँदा उमेद्वार छान्न ढिलाई




सङ्खुवासभा, चैत ३१ गते । सङ्खुवासभामा चुनावी माहोल तातिएसँग स्थानीय तहमा उमेद्वारको आकांक्षी बढी हुँदा राजनितिक दलले उमेद्वार छान्न ढिलाई भईरहेको छ । चुनाव नजिकिदै गर्दा स्थानीय तहको प्रमुख र उपप्रमुखमा धेरैले उमेदवार बन्न पाउनु पर्ने माग राख्दै आउँदा जिल्ला स्थीत नेत्रृत्व तहमा पनि टाउको दुखाईको विषय बनेको छ ।

कतिपय उमेद्वारहरुले भने जिल्लाका नेता र मतदाताहरुसँग उमेद्वारको टिकटकै लागि लविङ गर्दै आएका छन् । पार्टीमा आफुले गरेको योगदान र विकाश क्षेत्रमा खेलेको भुमिकाहरुलाई आफ्नो हतियार बनाएर उमेदवारका आकांक्षीहरु टिकटको लागि लागिपरेका छन् । विशेषतः तीन प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा उमेद्वारहरुको बढि आकांक्षी देखिएको छ । माओबादी केन्द्रले खाँदबारी नगरपालिकाको लागि प्रमुख र उपप्रमुखको घोषणा गरेको बहेक हालसम्म कुनै दलले उमेदवारीको सिफारिस जिल्ला कार्य समितिलाई बुझाउन सकेको छैन ।

नेपाली कांग्रेसले चैत २५ गते भित्र स्थानीय तहको उमेदवार सिफारिस गर्न कार्ययोजना बनाए पनि उमेद्वारको संख्या अधिक भएकै कारण हालसम्म कुनैको पनि उमेद्वारी सिफारिस भएर नआएको जिल्ला सभापति दीपनकुमार श्रेष्ठले बताउनुभयो । नेतृत्व गर्न तत्परता देखाउनेहरु धेरै भएकोले उमेद्वारको केहि दिनमा नै तहको उमेद्वारी घोषणा गरिने श्रेष्ठको भनाई छ । ‘लोकतन्त्रमा सवैले आफ्नो कुरा राख्न पाउँछन्, महत्वकांक्षी धेरै हुन पनि राम्रो हो’, श्रेष्ठले भन्नुभयो, ‘हामी केहि दिनभित्र उमेद्वारको टुंगो लगाएर केन्द्रमा पठाउँछौँ ।’ नेपाली कांग्रेसमा एकै पदको लागि सात जनासम्म आकांक्षी रहेको बताईएको छ ।

नेकपा एमालेले पनि उमेद्वारको आकांक्षी बढि भएकै कारण हालसम्म कुनै उमेद्वार सिफारिस गर्न सकेको छैन । एमालेबाट एउटै तहमा एघार जना सम्मले दावी गरेको नेकपा एमाले जिल्ला सदस्य विनोद सुब्बा गुरुङले जानकारी दिनुभयो । नेकपा एमालले पनि चैत्र ३० गतेसम्म स्थानीय तहको लागि उमेद्वार सिफारिस गरेर जिल्ला कार्य समितिमा ल्याउनुपर्ने भनिएपनि कुनै पालिकाबाट पनि नल्याएको बताईएको छ । केहि गाउँमा भने उमेद्वारको टुङ्गो लाग्न आँटेको गुरुङको भनाई छ ।

माओवादी केन्द्रको पनि उमेद्वारको बिवादकै कारण अहिलेसम्म खाँदबारी नगरपालिका बाहेक अन्यमा उमेद्वार छान्न सकेको छैन । कतिपयमा भने करिब उमेद्वार टुंगो लागे पनि ‘पर्ख र हेर’ नितिको कारण उमेद्वार जिल्लामा नपठाईएको नेकपा माओवादी केन्द्र सङ्खुवासभाका सञ्चार विभागका छिरिङ शेर्पाले जानकारी दिनुभयो । धेरैले आकांक्षा देखाएपनि अव केहि दिनमा नै उमेद्वारको टुंगो लाग्ने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार