खाँदबारी बजारमा सामुहिक सरसफाई



सरसफाईमा सहभागी हुँदै प्रमुख जिल्ला अधिकारी लगायतका टोली । तस्विरः गंगा विष्ट

सङ्खुवासभा, बैशाख १५ गते । खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी बजारको विभिन्न भागमा सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुखहरु, सुरक्षा निकाय, विभिन्न संघ संस्था र नगरवासीहरुको सहभागितामा आज सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट अन्य प्रहरी सहित म्यादी प्रहरीहरुका उल्लेख्य उपस्थीती रहेको थियो । सरसफाई टोलीले खाँदबारीको हटिया लाग्ने टुडीखेल, प्रहरी गेट, पोखरी बजार, चाँदनी चोक, देवकोटा चोक लगायतका ठाउँहरुमा सरसफाई गरेका थिए । सरसफाईको क्रममा संकलित फोहोरलाई ट्याक्टरबाट सुरक्षित ठाउँमा लगेर नष्ट गरिएको थियो ।

नगरलाई स्वाच्छ र समृद्ध बनाउन नियमित रुपमा सरसफाई गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । प्रत्येक सरकारी तथा गैह्र सरकारी कार्यालयहरुले आफ्नो कार्यालय क्षेत्रमा नियमित सरसफाई गर्नु पर्ने सरकारले निर्णय गरेको बताउनुहुदै प्रत्येक महिनाको शुक्रबार संस्थागत रुपमा दर्ता भएका संस्थाहरुले दुई देखि तीन बजेसम्म सरसफाई गर्ने बागमती सफाई अभियानले निर्णय गरेको जानकारी गराउनुभयो ।

खाँदबारी नगरलाई स्वाच्छ र सफा बनाई राख्न नियमित सरसफाई गर्नु पर्ने आवश्यकता रहेकोले स्थानीय नागरिकहरु नै सरसफाईमा जागरुक हुनुपर्ने प्रजिअ जोशीको भनाई थियो ।

सम्बन्धित समाचार