मकालु बेसक्याम्प जाने बाटो अझै खुलेन, पर्यटकहरु थुनिए



ताल फुटेपछि आएको बाढीले याङ्ले खर्कमा डुबाएको गोठ । तस्विर सौजन्यः छोपाल शेर्पा

 सङ्खुवासभा, बैशाख १६ गते । बैशाख ७ गते मकालु हिमश्रृङ्खला अन्तर्गत पर्ने लाङ्माले हिमताल फुटेपछि अवरुद्ध बनेको मकालु बेस क्याम्प तर्फको बाटो अझै मर्मत भएको छैन । बाटो नखुलेपछि मकालु बेस क्याम्प पुगेका विदेशी पर्यटकहरुको टोली थुनिएका छन् ।

लाङ्माले हिमताल फुटेपछि बरुण नदिमा बाढि आई बाटो र पुल बगाएको थियो । बाढीले ठाउँ ठाउँमा बाटो बगाएको छ भने ६ वटा झोलुङ्गे पुल बगाएको थियो । पुल र बाटो बगाएपछि विदेशी पर्यटकहरु सहित करिब चार सय जना थुनिएका छन् । उनीहरु लामो समयको लागि खाद्यबस्तुहरु सहित गएकोले हालसम्म सुरक्षित रहेको तर तत्काल बाटो नखुलाए खाद्यसामग्रीहरु पनि सकिने त्यहाँ पुगेर फर्किएका छोपाल शेर्पाले जानकारी दिनुभयो । आफुहरु डोरी टाँगेर थुनिएकाहरुको अवस्था हेर्न पुगेको बताउनुभयो । तत्काल बाटो नबनाए थुनिएका सवैलाई हेलिकप्टरबाट ओसार्नुको विकल्प नभएको शेर्पाले बताउनुभयो ।

‘बाटो खुलाउन र नदिमा साँगो राख्नलाई पनि करिब एक महिना लाग्छ’, शेर्पाले भन्नुभयो, ‘अब केही दिन मात्रै ढिलो गरे खोलामा पानी बढ्छ, त्यसपछि साँगो हाल्न पनि समस्या हुन्छ ।’ बाटो मर्मत गर्दा सरकारी निर्णय पर्खिरहनुभन्दा स्थानीय जनशक्ति प्रयोग गरेर काम थाले चाँडो बाटो खुल्ने शेर्पाको दावी छ । शेर्पाका अनुसार सो बाटोमा दैनिक ४० देखि ५० जनाले पैदल यात्रा गर्छन् ।

ताल फुटिसकेपछिको अवस्थाको बारेमा मकालु बरुण राष्ट्रिय निकुञ्ज पनि जानकार रहेकोले उनीहरुले विशेष चासो दिनुपर्ने दैविक प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो । निकुञ्ज क्षेत्रमा उनीहरुसँग समन्वय नगरि कुनै पनि कार्य गर्न नपाईने प्रावधानका कारण बाटो खुलाउनको लागि ‘जरुरी पत्र’ पठाईसकेको प्रजिअ जोशीले बताउनुभयो । घटनाको बारेमा बन्यजन्तु आरक्षण विभागमा पनि पत्र पठाईसकेको उहाँको भनाई छ । भत्किएको बाटो माथी थुनिएकाहरुको उद्धारको लागि पनि हेलिकप्टरको माग गरिसकेको जोशीले जानकारी दिनुभयो ।

ताल फुटेपछि आएको बाढीले याङ्ले खर्कमा रहेको छोपाल शेर्पाको दुई वटा घर र होटल समेत बगाएको थियो । त्यस्तै छिमेकी रिञ्जे शेर्पाको पनि दुई वटा गोठमा रहेको १५ वटा चौरी बगाएको थियो । बाढीले याङ्ले खर्कमा मात्र एक करोड भन्दा बढीको क्षति पुराएको उनीहरुको दावी छ । गोरखापत्र दैनिक

सम्बन्धित समाचार